काठमाडौं । प्रहरीले ललितपुरको सानेपास्थित ‘जनआस्था साप्ताहिक’को कार्यालयमा छापा मारेर विभिन्न सामग्री नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले ललितपुर प्रहरीसँगको सहकार्यमा बिहीबार बिहान कार्यालयमा खानतलासी गरेको हो । जनआस्थाका सम्पादक किशोर श्रेष्ठ बुधबार साँझ पक्राउ परेपछि प्रहरीले अनुसन्धानका क्रममा कार्यालयमा खानतलासी गरेको जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार रीतपूर्वक खानतलासी गरी वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा प्रयोग गरिएका कम्प्युटरलगायत सामग्री नियन्त्रणमा लिइएको छ ।
श्रेष्ठविरुद्ध दीपिका सिंहले जाहेरी दिएपछि प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको हो ।
साउन २५ गते जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित सामग्री प्रकाशित भएको थियो । उक्त सामग्रीमा श्रेष्ठले सांसद चौधरीसँग एक युवतीको तस्बिर सार्वजनिक गरेका थिए ।
सोही विषयलाई लिएर श्रेष्ठविरुद्ध उजुरी परेको प्रहरीले जनाएको छ ।





