काठमाडौं । बुधबार राति पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले हतकडी लगाएर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ। त्यसअघि उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा समेत उपस्थित गराइएको थियो।
श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन्। प्रहरीले उनलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ गरिएको जनाएको छ।
श्रेष्ठविरुद्ध परेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको बताइएको छ। अनुसन्धानकै क्रममा प्रहरीले उनको कार्यालयमा समेत खानतलासी गरी केही सामग्री नियन्त्रणमा लिएको थियो।
यसैबीच श्रेष्ठको रिहाइको माग गर्दै पत्रकारसँग सम्बन्धित विभिन्न संघसंस्थाले प्रदर्शन गर्दै आएका छन्। उनीहरूले पत्रकारलाई हतकडी लगाएर अदालतमा उपस्थित गराउने कार्यप्रति समेत आपत्ति जनाएका छन्।





