काठमाडौं– आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘गौँथली’ ले प्रिमियर शोमै सकारात्मक प्रतिक्रिया बटुलेको छ।

सोमबार साँझ काठमाडौंको सिभिल मलमा आयोजित प्रिमियरमा सहभागी दर्शक तथा फिल्मकर्मीले चलचित्रको कथा, अभिनय र सामाजिक सन्देशको खुलेर प्रशंसा गरेका छन्।

ADVERTISEMENT

प्रिमियर हेर्ने अधिकांशले ‘गौँथली’ले २०६० को दशकअघिको नेपाली ग्रामीण समाजमा महिलाले भोगेका यथार्थलाई संवेदनशील ढंगले प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार फिल्मले सुरुदेखि अन्त्यसम्म दर्शकलाई बाँधेर राख्ने क्षमता राख्छ।

फिल्ममा अरुण क्षेत्रीले अटिजम भएका पात्र र सिम्रन खड्काले बुहारीको भूमिकामा गरेको अभिनय विशेष रूपमा रुचाइएको छ। उनीहरूको अभिनयले दर्शकको मन जितेको प्रतिक्रिया प्रिमियरमा सहभागीहरूले दिएका छन्।

ADVERTISEMENT

प्रिमियरमा कलाकार कृष्ण मल्ल, रवि डंगोल, जितु नेपाल, निर्देशक दिवाकर भट्टराई, निर्माता रोहित अधिकारी तथा पत्रकार प्रकाश सुवेदीलगायतको उपस्थिति रहेको थियो। उनीहरूले तत्कालीन नेपाली समाजको यथार्थ चित्रण गर्न फिल्म सफल भएको भन्दै निर्माण टिमलाई सफल प्रदर्शनको शुभकामना दिएका छन्।

डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’ भोला रिजाल प्रोडक्सन र सुमन गिरीको प्रस्तुतिमा निर्माण भएको हो। फिल्ममा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीलगायत कलाकारको अभिनय रहेको छ।

बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्। फिल्मको कथा डा. भोला रिजालको हो भने पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार पारेका छन्।