काठमाडौं । मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक ‘म मदनकृष्ण’मा वर्षा राउत अनुबन्ध भएकी छन् । यो चलचित्रमा उनी हरिवंश आचार्यको अपोजिटको भूमिकामा देखिनेछिन् ।
उनले ‘म मदनकृष्ण’मा हरिवंशको श्रीमतीको भूमिका निभाउने छिन् । हरिवंशको भूमिकामा यो चलचित्रमा अरुण क्षेत्री यसअघि नै अनुबन्ध भइसकेका छन् । अब ‘म मदनकृष्ण’मा वर्षाले अरुणको अपोजिटमा काम गर्नेछिन् ।
हरिवंशको अपोजिटमा वर्षाले काम गर्दा यही टिमले यसपछि बनाउने हरिवंशको बायोपिकमा पनि वर्षा नै यो भूमिकामा रहने निर्माण टिमले प्रेस नोटमा उल्लेख गरेको छ । अरुणले हरिवंशको बायोपिकमा मुख्य भूमिकामा साइन गरिसकेका छन् ।
मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै उनको सम्पूर्ण जीवन संघर्ष र आरोह–अवरोहलाई समेटेर निर्माण हुने बायोपिक सिनेमा ‘म मदनकृष्ण’लाई मिलन चाम्सले निर्देशन गर्नेछन् ।
म मदनकृष्णको बायोपिकमा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् । यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाउनेछन् । उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन् ।
मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाहलगायतको कथा बायोपिकमा समावेश हुनेछ । चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनालको पनि अभिनय रहनेछ ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘मदनकृष्ण’लाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् ।






