सिरहा । सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका किशोर गणेश यादवको परिवारलाई मधेस सरकारले घर बनाइदिने भएको छ ।

मधेश प्रदेश सरकारको ‘विपन्नसँग मदन भण्डारी आवास योजना’अन्तर्गत मृतक यादवको परिवारका लागि सरकारले दुई कोठे भवन, भान्सा र शौचालय निर्माण गरिदिने भएको हो ।

प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह र मृतकका परिवारबीच शुक्रबार यससम्बन्धी सहमति भएको छ ।

ADVERTISEMENT

मृतकका बुवा रामबृक्ष यादव, भौतिक पूर्वाधार कार्यालय सिरहाका इन्जिनियर रामनारायण यादव, औरही गाउँपालिका–२ का वडाध्यक्ष रामअयोध्या यादव तथा स्थानीय समाजसेवी र अगुवाहरूको उपस्थितिमा यससम्बन्धी लिखित सहमतिसमेत गरिएको छ ।

ADVERTISEMENT

घटनालगत्तै गणेशको परिवारलाई भेटेपछि मन्त्री सिंहले अवस्था कमजोर रहेको र घर बनाएर सरकारको उपस्थिति देखाउनुपर्ने प्रस्ताव प्रदेश सरकारको बैठकमा राखेका थिए ।

परिवारले जग्गा उपलब्ध गराउनेबित्तिकै निर्माण कार्य प्रारम्भ हुने मन्त्री सिंहले बताए । प्रदेश सरकारले यसका लागि बजेट पनि विनियोजन गरिसकेको छ ।

मृतक गणेशका बुवा रामबृक्ष यादवका लागि रंगरोगनसहित दुई कोठे भवन, किचेन र शौचालय निर्माण गर्न ५ लाख ४६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको पूर्वाधार विकास कार्यालय सिरहाका इन्जिनियर रामनारायण यादवले बताए । उनकाअनुसार चालु आर्थिक वर्ष २०८३/०८४ भित्रै निर्माण कार्य सक्ने लक्ष्य राखिएको छ।