काठमाडौं — नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र फाइभजी मोबाइल सेवा सुरु गर्ने तयारीलाई तीव्र बनाउन मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई चरणबद्ध कार्ययोजना तयार गरी पेश गर्न निर्देशन दिएको छ।
शुक्रबार जारी प्रेस विज्ञप्तिअनुसार दूरसञ्चार ऐन, २०५३ को दफा १५ बमोजिम नेपाल टेलिकम, एनसेलसहितका सेवा प्रदायकहरूलाई सेवा गुणस्तर सुधार, फोरजी विस्तार, उपभोक्ता हित संरक्षण र नयाँ प्रविधि कार्यान्वयनसम्बन्धी आठबुँदे निर्देशन जारी गरिएको हो।
प्राधिकरणले प्रमुख सहरी क्षेत्रबाट फाइभजी सेवा सुरु गर्ने लक्ष्यसहित कार्ययोजना तयार गर्न तथा देशभर फोरजी सेवाको पहुँच र गुणस्तर विस्तारलाई प्राथमिकता दिन निर्देशन दिएको छ।
मोबाइल सेवाको गुणस्तर सुधारका लागि नेटवर्कको विश्वसनीयता, डेटा गतिको स्तर र ग्राहक अनुभव अभिवृद्धि गर्नुपर्ने उल्लेख गरिएको छ। सेवा प्रदायकहरूले प्रमुख कार्यसम्पादन सूचक (केपीआई), नेटवर्क अवस्था, सेवा अवरोध, डेटा गति र ग्राहक सन्तुष्टिसम्बन्धी प्रतिवेदन नियमित रूपमा बुझाउनुपर्नेछ।
उपभोक्ता सेवामा सुधारका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सहितका प्रविधिमार्फत २४सै घण्टा गुनासो सुनुवाइको व्यवस्था गर्न, ग्राहक सन्तुष्टि सर्वेक्षण नियमित सञ्चालन गर्न र उपभोक्ता बडापत्र प्रभावकारी रूपमा लागू गर्न पनि निर्देशन दिइएको छ।
यसका साथै सेवा नपुगेका क्षेत्र, औद्योगिक क्षेत्र, व्यापारिक केन्द्र तथा मुख्य सहरी क्षेत्रमा उच्च गतिको मोबाइल ब्रोडब्यान्ड विस्तार गर्न, रेडियो फ्रिक्वेन्सीको प्रभावकारी उपयोग गर्न, साइबर सुरक्षा र विपद् व्यवस्थापन योजना लागू गर्न तथा वैज्ञानिक र पारदर्शी शुल्क निर्धारण प्रणाली अपनाउन पनि प्राधिकरणले सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ।





