काठमाडौं । महालक्ष्मी विकास बैंकले शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन गरेको छ ।
विश्व स्तनपान सप्ताह २०२६ को अवसरमा महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीहरूको शिशु मातृत्वलाई प्राथमिकतामा राख्दै केन्द्रीय कार्यालय दरबारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको हो ।
स्तनपान गराइरहेका महिला कर्मचारीहरूलाई सुरक्षित, सहज, स्वच्छ तथा गोपनीय वातावरण उपलब्ध गराउने उद्देश्यले शिशु स्याहार कक्ष तथा डे केयरको स्थपना गरिएको बैंकले जनाएको छ ।
बिहीबार आयोजित एक कार्यक्रमका बीच महालक्ष्मी महिला नेतृत्व तथा विकास फोरमको अध्यक्षले स्याहार कक्षको उद्घाटन गरेका हुन् । महिला कर्मचारीहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्दै संस्थागत विकासमा थप प्रभावकारी भूमिका निर्वाह गराउने, पेसागत दक्षता तथा आत्मविश्वास अभिवृद्धि गर्ने, कार्यस्थलमा समान अवसर र समावेशी वातावरणलाई प्रवर्धन गर्ने तथा महिला सशक्तीकरणसम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्नेलगायतका गतिविधि गर्दैै आएको फोरम बैंकको ३२औं वार्षिक उत्सवको अवसरमा गठन गरिएको थियो ।
महालक्ष्मी विकास बैंकले समावेशिता र लंैगिक समानतालाई प्राथमिकतामा राख्दै आएको छ । कर्मचारीमैत्री, परिवारमैत्री तथा समावेशी कार्यसंस्कृति निर्माण गर्दै मातृत्वप्रतिको सम्मान, कार्य–जीवन सन्तुलन तथा कर्मचारी कल्याणलाई प्रबर्धन गर्ने बैंकको र्दीघकालीन प्रतिबद्धताको निरन्तरतास्वरुप यो पहल गरिएको हो ।
यस अवसरमा बैंकले सबै कार्यस्थलहरूलाई मातृत्व मैत्री वातावरण निर्माण तर्फ अग्रसर हुन आग्रह गर्दै आफ्ना कर्मचारीहरूको स्वास्थ्य, सम्मान र समग्र कल्याणप्रति सदैव प्रतिबद्ध रहने विश्वाससमेत व्यक्त गरेको छ ।





