काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनेल मेसीले विश्वकपपछि इन्टर मियामीमा फर्किएलगत्तै पहिलो गोल गर्दै टोलीलाई लिग्स कपमा ४–२ को प्रभावशाली जित दिलाएका छन्। बुधबार राति वर्षा र हावाहुन्डरीका कारण केही समय रोकिएको खेलमा इन्टर मियामीले एट्लेटिको सान लुइसलाई पराजित गरेको हो।

मेसीले खेलको ११औँ र ४४औँ मिनेटमा दुई गोल गर्दै अर्को एक गोलका लागि असिस्ट पनि गरे। यससँगै उनले लिग्स कपमा १२ खेलबाट १४ गोल पूरा गर्दै प्रतियोगिताको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बने। उनले लस एन्जलस एफसीका डेनिस बुआङ्गालाई पछि पारे।

ADVERTISEMENT

इन्टर मियामीका लागि टेलास्को सेगोभिया र डिफेन्डर मिकाएलले पनि एक–एक गोल गरे भने नोआ एलेनले तीन गोलमा असिस्ट गर्दै टोलीको लगातार अपराजित यात्रा आठ खेलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेले।

ADVERTISEMENT

विश्वकपपछि दोस्रो खेल खेलिरहेका ३९ वर्षीय मेसी पहिलो रोजाइमा मैदान उत्रिएका थिए। गत खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका उनले यसपटक सुरुदेखि नै प्रभावशाली प्रदर्शन गर्दै टोलीको जितमा निर्णायक योगदान दिए।

यसैबीच, लुइस स्वारेज भने प्रतिबन्धका कारण खेलमा अनुपस्थित रहे। गत संस्करणको लिग्स कपपछि भएको झडपका कारण उनीमाथि लगाइएको ६ खेलको प्रतिबन्ध जारी रहेकाले यस वर्षको प्रतियोगितामा पनि उनले खेल्न पाउने छैनन्।

ADVERTISEMENT