काठमाडौं । संघीय संसद्अन्तर्गत आज विभिन्न विषयमा छलफल गर्न ६ वटा संसदीय समितिको बैठक बस्दैछ।

बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधनदेखि वैदेशिक रोजगार, न्यायपालिका, कृषि, विश्व सम्पदा र उपभोक्ता हितसम्मका विषय एजेन्डामा रहेका छन्।

ADVERTISEMENT

बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ।

सोही समयमा बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल गरिनेछ।

ADVERTISEMENT

बिहान ९ः३० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा स्वतन्त्र न्यायपालिका, न्याय प्रशासनको वर्तमान अवस्था, देखिएका समस्या तथा समाधानका उपायबारे छलफल हुनेछ।

दिउँसो १ बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा समितिमा प्राप्त उजुरीबारे आन्तरिक छलफल गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी बिहान ९ः३० बजे बस्ने राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा युनेस्को र पुरातत्व विभागसँग विश्व सम्पदा सूचीमा सूचीकृत हुनसक्ने नेपालका सम्भावित सम्पदाबारे छलफल हुनेछ।

यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति, वितरण, मूल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमन तथा उपभोक्ता अधिकार संरक्षण र प्रवर्द्धनका विषयमा छलफल हुने कार्यसूची रहेको छ।