काठमाडौँ । राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बजारमा खाना पकाउने ग्यासको आपूर्ति तत्काल सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकपछि सभापति जयन्तीदेवी राईले उपभोक्ता हित संरक्षण, बजार व्यवस्थापन र कालोबजारी नियन्त्रणका लागि आवश्यक कदम तत्काल चाल्न सरकारलाई निर्देशन दिइएको जानकारी दिइन्।

ADVERTISEMENT

समितिले देशभर गुणस्तरीय वस्तु तथा सेवाको सहज आपूर्ति सुनिश्चित गर्न, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न तथा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि रोक्न प्रभावकारी बजार अनुगमन गर्न सरकारलाई आग्रह गरेको छ।

ADVERTISEMENT

यस्तै, सर्वसाधारणको सहज पहुँच हुने गरी सुपथ मूल्य पसलहरूको नियमित अनुगमन र विस्तार गर्न तथा प्रत्येक पसलमा अनिवार्य रूपमा मूल्यसूची राख्ने व्यवस्था कार्यान्वयन गर्न पनि निर्देशन दिइएको छ।

समितिले सङ्घ, प्रदेश र स्थानीय तहका सरकारबीच समन्वय र सहकार्य गर्दै नियमित बजार अनुगमन सञ्चालन गर्न, उपभोक्ताका गुनासा तथा उजुरी सुनुवाइ गर्ने संयन्त्र सुदृढ बनाउन र उपभोक्ता अदालतलाई प्रभावकारी रूपमा सञ्चालन गर्न समेत सरकारलाई निर्देशन दिएको छ।

ADVERTISEMENT