हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारको निरन्तरता र राजनीतिक स्थिरताका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलसँग औपचारिक रूपमा समर्थन माग गरेका छन्।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका बानियाँले नेपाल मजदुर किसान पार्टी, नेकपा, नेकपा (एमाले), राप्रपा र हाम्रो नेपाली पार्टीका संसदीय दलका नेताहरूलाई छुट्टाछुट्टै पत्र पठाउँदै वर्तमान सरकारलाई समर्थन गर्न र सहकार्यमा आउन आग्रह गरेका हुन्।

ADVERTISEMENT

उनले नयाँ गठबन्धनबाट सरकार बन्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै प्रदेशको राजनीतिक स्थिरताका लागि सहयोग आवश्यक रहेको बताएका छन्।

ADVERTISEMENT

गत साउन ६ गते सत्ता साझेदार दल नेकपा (एमाले)ले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका छन्। संवैधानिक व्यवस्थाअनुसार उनले आगामी भदौ ५ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ।

मुख्यमन्त्रीद्वारा हस्ताक्षरित पत्रमा एमालेले समर्थन फिर्ता लिएपछि प्रदेशमा राजनीतिक गतिरोध उत्पन्न भएको उल्लेख गर्दै चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पारित भइसकेको अवस्थामा सरकार फेरबदलको खेलले विकास निर्माण र सेवा प्रवाहमा असर पर्ने तर्क गरिएको छ।

ADVERTISEMENT

पत्रमा प्रदेश सरकारलाई निरन्तरता दिन, संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयताको सुदृढीकरणका लागि सबै दलबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै वर्तमान सरकारलाई समर्थन गर्न आग्रह गरिएको छ।

यसअघि मुख्यमन्त्री बानियाँले सर्वदलीय बैठकमार्फत पनि दलहरूसँग संवाद गर्दै नयाँ गठबन्धनले बहुमत जुटाए सरकार गठनका लागि सहज रूपमा मार्ग प्रशस्त गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।