काठमाडौं । सुनसरीको देवानगञ्जबाट सुरु भएको प्रदर्शन मधेसका विभिन्न जिल्लामा फैलिन थालेपछि नेपाल प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाउँदै चार जना अतिरिक्त महानिरीक्षक (एआईजी) लाई फिल्डमा खटाएको छ।

प्रहरी प्रधान कार्यालयले सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै कोशी, मधेस र लुम्बिनी प्रदेशका संवेदनशील जिल्लामा एआईजीसहित वरिष्ठ प्रहरी अधिकृतहरू परिचालन गरेको हो।

ADVERTISEMENT

प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार शुक्रबार बिहान एआईजी हिमालय श्रेष्ठलाई मधेस प्रदेशमा खटाइएको छ। यससँगै एआईजीदेखि एसएसपीसम्म १५ जना वरिष्ठ अधिकृतलाई जोखिमयुक्त क्षेत्रमा परिचालन गरिएको उनले जानकारी दिए।

सुरक्षा व्यवस्थापनका लागि एआईजी सिद्धीविक्रम शाहलाई बाँके, एआईजी उमा प्रसाद चतुर्वेदीलाई कपिलवस्तु, एआईजी ईश्वर कार्कीलाई सुनसरी तथा एआईजी हिमालय श्रेष्ठलाई मधेस प्रदेशमा जिम्मेवारी दिइएको छ।

ADVERTISEMENT

त्यस्तै, डीआईजी दिनेश आचार्यलाई सिरहामा र डीआईजी अबि नारायण काफ्लेलाई सप्तरीमा सुरक्षा समन्वयको जिम्मेवारी दिइएको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार केन्द्रबाट खटिएका अधिकृतहरूले स्थानीय सुरक्षा निकायसँग समन्वय गर्दै जनशक्ति परिचालन, सुरक्षा व्यवस्थापन र सम्भावित हिंसात्मक गतिविधि नियन्त्रणमा विशेष भूमिका निर्वाह गर्नेछन्।

उद्देश्य सुनसरीबाट सुरु भएको दुई समुदायबीचको तनाव अन्य क्षेत्रमा फैलिन नदिनु रहेको प्रहरीले जनाएको छ।

को कहाँ खटिए ?

एआईजी सिद्धीबिक्रम शाह, बाँके

एआईजी हिमालय कुमार श्रेष्ठ, मधेस प्रदेश

एआईजी उमा प्रसाद चतुर्वेदी, कपिलवस्तु

एआईजी ईश्वर कार्की, कोशी प्रदेश र सुनसरी

डीआईजी दिनेश कुमार आचार्य, सिरहा

डीआईजी अबि नारायण काफ्ले, सप्तरी

एसएसपी गोपालचन्द्र भट्टराई, सर्लाही

एसएसपी सोमेन्द्र सिंह राठौर, पर्सा

एसएसपी दीप शम्शेर जबरा, रौतहट

एसएसपी नवराज अधिकारी, चितवन

एसएसपी कृष्ण प्रसाद पंगेनी, महोत्तरी

एसएसपी होबिन्द्र बोगटी, बारा

एसएसपी ज्ञानेन्द्र प्रसाद फुँयाल, मारेरङ

एसएसपी भुवनेश्वर तिवारी, धनुषा

एसएसपी अमरेन्द्र बहादुर सिंह, मधेस