काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कार्यकारी परिषद्ले चार सदस्य मनोनयन गरेको छ।

कार्यकारी परिषद् सदस्यमा चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. मोहनराज शर्मा, कानुन संकायका डिन प्रा.डा. दिननाथ पराजुली, भूगोल केन्द्रीय विभागका प्रा.डा. कन्हैया सापकोटा र वनस्पति केन्द्रीय विभागकी प्रा.डा. विजया पन्त मनोनयन भएका छन्।

ADVERTISEMENT

त्रिविका प्रवक्ता नविन्द्र भण्डारीका अनुसार सदस्यहरूको नाम सिफारिस गर्न गठन गरिएको मनोनयन समितिको सिफारिसका आधारमा कार्यकारी परिषद्ले मनोनयन गर्ने निर्णय गरेको हो।

त्रिवि ऐनअनुसार कार्यकारी परिषद्मा उपकुलपति अध्यक्ष, शिक्षाध्यक्ष सदस्य, अध्ययन संस्थानका डिनहरूमध्ये एक, संकायका डिनहरूमध्ये एक, विश्वविद्यालयका शिक्षकहरूमध्ये दुई सदस्य तथा रजिस्ट्रार सदस्य–सचिव रहने व्यवस्था छ।

ADVERTISEMENT

लामो समयदेखि कार्यकारी परिषद्ले पूर्णता नपाउँदा विश्वविद्यालयका महत्त्वपूर्ण नीतिगत तथा प्रशासनिक निर्णय प्रभावित हुँदै आएका थिए। चार सदस्य मनोनयन भएसँगै अब कार्यकारी परिषद्को बैठक बस्ने तयारी गरिएको छ।

यद्यपि शिक्षाध्यक्ष र रजिस्ट्रारको पदका लागि नाम भने अझै सिफारिस भएको छैन। प्रचलित व्यवस्थाअनुसार उपकुलपतिले ती पदका लागि नाम कुलपतिसमक्ष सिफारिस गर्नुपर्ने हुन्छ। हाल दुवै जिम्मेवारी निमित्त पदाधिकारीहरूले सम्हालिरहेका छन्।