काठमाडौं । चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीले जापानको लोकप्रिय तथा अत्यन्त प्रतिस्पर्धात्मक ‘केई’ कार बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ ।
कम्पनीले जापानी ग्राहकलाई लक्षित गर्दै पहिलोपटक विशेष रूपमा विकास गरिएको विद्युतीय मिनी कार ‘राक्को ईभी’ सार्वजनिक गरेको हो । यो बीवाईडीले कुनै एक देशको आवश्यकता र रुचिलाई केन्द्रमा राखेर डिजाइन तथा विकास गरेको पहिलो प्यासेन्जर कारसमेत बनेको छ ।
जापानमा ‘केई’ कार सानो आकार, कम सञ्चालन खर्च, कर छुट तथा उत्कृष्ट व्यावहारिकताका कारण निकै लोकप्रिय मानिन्छ । देशमा प्रत्येक वर्ष बिक्री हुने नयाँ सवारीसाधनमध्ये ३० प्रतिशतभन्दा बढी हिस्सा यही सेग्मेन्टले ओगट्दै आएको छ ।
कडा प्राविधिक मापदण्ड र सीमित आकारका कारण विदेशी कम्पनीका लागि यो बजारमा प्रवेश गर्न निकै चुनौतीपूर्ण मानिन्छ । तर, बीवाईडीले जापानी बजारको आवश्यकता बुझ्दै नयाँ प्लेटफर्ममै आधारित ‘राक्को ईभी’ विकास गरेको जनाएको छ । कम्पनीका अनुसार जापानी ग्राहकको माग र सुझावलाई ध्यानमा राखेर यो कार तयार गरिएको हो ।
‘राक्को’ जापानमा दुर्लभ बन्दै गएको एक समुद्री जीवको नाम हो । सोही जीवबाट प्रेरित भएर बीवाईडीले आफ्नो नयाँ विद्युतीय मिनी कारको नामकरण गरेको बताएको छ।
बीवाईडीले ‘राक्को ईभी’को प्रारम्भिक मूल्य २१ लाख ५० हजार जापानी येन निर्धारण गरेको छ, जुन करिब १३ हजार अमेरिकी डलर बराबर पर्छ । यो कार तीन भेरियन्टमा उपलब्ध हुनेछ भने यसको उच्च भेरियन्टको मूल्य २५ लाख जापानी येन तोकिएको छ ।
कम्पनीका अनुसार शीर्ष भेरियन्टले एकपटकको पूर्ण चार्जमा ३२० किलोमिटरसम्म यात्रा गर्न सक्छ, जसले यसलाई जापानमा उपलब्ध केई श्रेणीका विद्युतीय सवारीमध्ये सबैभन्दा बढी रेन्ज दिने मोडल बनाएको छ ।
फिचरका हिसाबले पनि बीवाईडीले ‘राक्को ईभी’ लाई निकै प्रतिस्पर्धी बनाएको छ । यसमा परम्परागत केई कारको तुलनामा फराकिलो क्याबिन, बढी हेडरुम, स्लाइडिङ डोर, आधुनिक डिजाइन तथा सबै भेरियन्टमा एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम स्ट्यान्डर्ड रूपमा उपलब्ध गराइएको छ । कम्पनीले यसलाई सफ्टवेयर–केन्द्रित अवधारणामा विकास गरिएको विश्वकै पहिलो केई कार भएको दाबीसमेत गरेको छ ।
हाल जापानको केई ईभी बजारमा निसान साकुरा र होन्डा एन–वान ई: जस्ता मोडलहरूको वर्चस्व रहेको छ । यी मोडलहरूले सरकारी अनुदानको सुविधा समेत पाउँदै आएका छन् । बीवाईडीका गाडीले हाल सीमित सरकारी अनुदान मात्र पाउने भए पनि कम्पनीले उत्कृष्ट रेन्ज, आधुनिक प्रविधि र सुविधामार्फत ग्राहक आकर्षित गर्ने रणनीति लिएको जनाएको छ ।
सरकारी अनुदानपछि ‘राक्को ईभी’को मूल्य करिब २० लाख जापानी येन हाराहारीमा पर्ने अनुमान गरिएको छ, जुन यसको प्रमुख प्रतिस्पर्धी मोडलहरूसँग प्रतिस्पर्धा गर्न सक्ने स्तरमा रहेको छ।बीवाईडीले जापानमा सन् २०२३ देखि प्यासेन्जर कार बिक्री सुरु गरेको हो । चालु वर्षको पहिलो ६ महिनामा कम्पनीले जापानी बजारमा २३३४ वटा प्यासेन्जर कार बिक्री गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४३ प्रतिशतले बढी हो ।
‘राक्को ईभी’ सार्वजनिकसँगै कम्पनीले विशेषगरी जापानका ग्रामीण तथा साना शहरहरूमा आफ्नो बिक्री तथा सेवा सञ्जाल विस्तार गर्ने योजना बनाएको छ।
हाल जापानको केई कार बजारमा निसान, होन्डा र मित्सुबिसीको बलियो उपस्थिति रहेको छ। यसबाहेक, चीनको चेरी अटोमोबाइल्स र अन्य लगानीकर्ताको संरक्षणमा रहेको ईएमटीएलले पनि आगामी वर्ष सोही सेग्मेन्टमा नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
जापानमा विद्युतीय सवारीसाधनको बजार हिस्सा अझै करिब २ प्रतिशत मात्र रहेको अवस्थामा बीवाईडीको ‘राक्को ईभी’ले किफायती तथा साना विद्युतीय सवारीको लोकप्रियता बढाउने अपेक्षा गरिएको छ । साथै, जापानकै सबैभन्दा प्रतिस्पर्धी मानिने ‘केई’ कार सेग्मेन्टमा विदेशी कम्पनीको प्रवेशले त्यहाँको अटोमोबाइल उद्योगमा नयाँ प्रतिस्पर्धाको सुरुवात गर्ने विश्लेषण गरिएको छ ।





