तेहरान । जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी इरानले गरेको क्षेप्यास्त्र आक्रमणको प्रयासपछि अमेरिकाले बिहीबार इरानका विभिन्न सैन्य लक्ष्यमा व्यापक जवाफी आक्रमण गरेको छ । करिब एक सातादेखि रोकिएको सैन्य भिडन्त पुनः सुरु भएसँगै वार्तामार्फत तनाव कम हुने आशामा गम्भीर धक्का लागेको छ भने मध्यपूर्व फेरि युद्धको जोखिमपूर्ण चरणमा प्रवेश गरेको छ ।

अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्ट्रल कमान्ड) ले यो कारबाहीलाई मध्यपूर्वमा तैनाथ आफ्ना सैनिकमाथि भएको इरानी आक्रमणको शक्तिशाली प्रतिक्रिया भएको जनाएको छ । आक्रमणअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्युजसँग कुरा गर्दै इरानलाई कडा प्रहार गरिने चेतावनी दिएका थिए ।

ADVERTISEMENT

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार पश्चिमोत्तर पिरानशहर सीमावर्ती क्षेत्रमा अमेरिकी क्षेप्यास्त्र प्रहार भएको छ । फार्स समाचार एजेन्सीले निर्जन क्षेत्रमा आक्रमण भएकाले मानवीय क्षति नभएको जनाएको छ । त्यसअघि जोर्डनको सेनाले इरानबाट प्रहार गरिएका पाँचवटा क्षेप्यास्त्र अवरोध गरी नष्ट गरेको जानकारी दिएको थियो । इरानको इस्लामिक रिभोलुसनरी गार्ड्सले ती आक्रमण अमेरिकी सैन्य अड्डालाई लक्षित रहेको दाबी गर्दै इरानमाथिको खतरा कायम रहेसम्म ‘प्रतिरोध जारी रहने’ चेतावनी दिएको छ ।

ADVERTISEMENT

युद्धको अर्को मोर्चामा इजरायलले लेबनानबाट हिजबुल्लाहले इजरायली सवारीसाधनलाई लक्षित गरी ड्रोन प्रयोग गरेको आरोप लगाउँदै त्यसलाई युद्धविरामको स्पष्ट उल्लंघन भनेको छ । यसअघि इजरायलले इरानविरुद्धको युद्धको प्रारम्भिक चरणमा अमेरिकासँग संयुक्त रूपमा कारबाही गरेको भए पनि पछिल्लो अमेरिकी आक्रमणमा प्रत्यक्ष सहभागी भएको पुष्टि भएको छैन ।

यसैबीच अमेरिका र साउदी अरेबियाले इराकभित्र इरानसमर्थित सशस्त्र समूहका आधार र हतियार भण्डारण स्थललाई लक्षित गरी संयुक्त हवाई आक्रमण गरेका छन् । अमेरिकी सेनाले रसद तथा हतियार भण्डारण केन्द्रमा प्रहार गरिएको जनाएको छ ।

ADVERTISEMENT

इराकको हसद अल–शाबी गठबन्धनले उक्त आक्रमणमा आफ्ना कम्तीमा २० सदस्य मारिएको दाबी गरेको छ । गठबन्धनले यसलाई इराकको आधिकारिक सुरक्षा संरचनामाथिको ‘खतरनाक वृद्धि’ भन्दै निन्दा गरेको छ । दुई हसद अधिकारीका अनुसार मारिनेमा पाँच इरानी सैन्य सल्लाहकार पनि रहेका छन् । एएफपीका संवाददाताले इरानी झण्डाले ढाकिएका कफिनहरू देखेको जनाएका छन् ।

सन् २०१४ मा जिहादीविरुद्ध लड्न गठन गरिएको हसद अल–शाबीपछि इराकी सुरक्षा संरचनामा समाहित भएको थियो । यसभित्र इरानसँग निकट सम्बन्ध रहेका विभिन्न सशस्त्र समूह आबद्ध छन् ।

इराक सरकारले अमेरिका–साउदी आक्रमणको विरोध गर्दै आफ्नो सार्वभौमसत्तामाथिको हस्तक्षेप अस्वीकार्य भएको जनाएको छ । राष्ट्रिय सुरक्षा परिषद्ले इराकको भूमि कुनै पनि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिइने स्पष्ट पारेको छ ।