काठमाडौं । नेकपा एमालेको संविधान संशोधन सुझाव कार्यदलको सदस्य सचिवमा महेशकुमार बर्तौला नियुक्त भएका छन्। आइतबार च्यासलमा बसेको कार्यदलको पहिलो बैठकले बर्तौलालाई सदस्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।

एमाले केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा संविधान संशोधन सुझाव कार्यदल गठन गरेको थियो। कार्यदलले संविधान कार्यान्वयनको हालसम्मको अनुभव, सबल तथा कमजोर पक्ष र कार्यान्वयनका क्रममा देखिएका जटिलताबारे पुनरावलोकन गर्दै संशोधन सम्बन्धी सुझाव संकलन गर्ने तयारी गरेको छ।

ADVERTISEMENT

बैठकले संविधान संशोधन सम्बन्धी सुझाव संकलन तथा कार्ययोजना निर्माणका लागि अग्निप्रसाद खरेलको संयोजकत्वमा उपसमिति गठन गरेको छ। उपसमितिमा रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टीकाराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापा सदस्य रहेका छन्।

उपसमितिले सुझाव संकलन, कार्ययोजना र विस्तृत कार्यतालिका तयार गरी आगामी बैठकमा पेश गर्ने सदस्य सचिव बर्तौलाले जानकारी दिए। साथै संविधान संशोधनका विषयमा अन्य राजनीतिक दल तथा उनीहरूले गठन गरेका कार्यदलहरूसँग संवाद, छलफल र अन्तरक्रिया अघि बढाइने पनि उनले बताए।

ADVERTISEMENT

कार्यदलले संघीय लोकतान्त्रिक गणतन्त्र तथा वर्तमान संविधानले अवलम्बन गरेको शासन प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाउन राजनीतिक तथा सामाजिक क्षेत्रका विभिन्न पक्षबाट सुझाव संकलन गरी संशोधन प्रस्ताव तयार गर्ने निर्णय गरेको जनाएको छ।