काठमाडौं । लघुवित्त पीडितहरुले बुधबार दोस्रो दिन पनि काठमाडौँको माइतीघरमा धर्ना जारी राखेका छन्।
लघुवित्तसम्बन्धी विगतका प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्ने, लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण अन्त्य गर्नुपर्ने, चर्को तथा चक्रवर्ती ब्याज लिन नपाइने, विभिन्न शीर्षकमा असुल गरिने हर्जना र विविध शुल्क खारेज गर्नुपर्ने माग उनीहरुका छन्।
साथै, जग्गा धितो लिलामी, कालोसूचीमा राख्ने कार्य तथा अन्यायपूर्ण ऋण असुलीको न्यायिक निरुपण गर्न सरकारसँग उनीहरुको माग छ। उनीहरुले मंगलबार बालुवाटारमा धर्ना दिएका थिए।
नेपाल राष्ट्र बैंकतर्फ अघि बढेका उनीहरुले प्रहरीले रोकेपछि सडकमै धर्ना बसेका थिए। लघुवित्त पीडितहरु न्याय माग्न भन्दै विभिन्न जिल्लाबाट पैदल मार्चपास गरेर काठमाडौं आएका हुन्। तर अहिलेसम्म सरकारले उनीहरूको माग सम्बोधनका लागि कुनै पहलकदमी लिएको छैन ।






