काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीरलाई अहिले श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपा ललितपुरमा राखिएको छ ।

पार्टीका सभापति गगन थापा, रास्वपाका सभापति रवि लामिछाने, नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतले सानेपा पुगेर श्रेष्ठलाई श्रद्धाञ्जली दिए । पार्थिव शरीरमा कांग्रेस सभापति थापाले पार्टीको झण्डा ओढाए ।

ADVERTISEMENT

श्रद्धाञ्जलीपछि श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ । ८३ वर्षका श्रेष्ठको उपचारका क्रममा हिजो निधन भएको हो । श्रेष्ठलाई श्रद्धाञ्जली दिन पार्टीका पदाधिकारी, केन्द्रीय समितिका सदस्य र कार्यकर्ताहरू सानेपा कार्यालयमा भेला भएका छन्। तर इतर पक्षका नेताहरू श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गर्न सानेपास्थित केन्द्रीय कार्यालयमा पुगेका छैनन्।

निवर्तमान कार्यवाहक अध्यक्ष पूर्णबहादुर खड्का, शेखर कोइराला, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, प्रकाशशरण महत, मिन विश्वकर्माहरू सानेपा गएनन् ।

ADVERTISEMENT

शशांक, प्रकाशशरण, एनपी साउद र दीपक खड्कासहित केही नेता श्रेष्ठको निवासमै पुगेर श्रद्धाञ्जली दिएका थिए । शव अस्पतालबाट घर लगिएपछि केही नेताहरू उनको निवासमा गएर त्यहाँ श्रद्धाञ्जली दिएको बताइएको छ ।

कांग्रेसले पुसमा विशेष महाधिवेशन गर्दा श्रेष्ठले भृकुटीमण्डपमा गएर भाषण गरेका थिए । त्यसपछि उनी थला परे । शेरबहादुर देउवा कांग्रेस प्रजातान्त्रिकको सभापति हुँदा उनी जेल परेपछि श्रेष्ठले कार्यबाहक सभापति बनेर तत्कालीन सात दलको आन्दोलनमा नेतृत्व गरेका थिए ।