ललितपुर । ललितपुरको महाँकाल गाउँपालिकामा एसओएस बालग्रामका कर्मचारी सवार स्कार्पियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सोमबार साँझ महाँकाल गाउँपालिका–३ गोटीखेलबाट चापागाउँतर्फ आउँदै गरेको बा.ए.ए. ४६३९ नम्बरको स्कार्पियो महाँकाल गाउँपालिका–२ कटनभञ्ज्याङमा दुर्घटनाग्रस्त भई करिब ५० मिटर तल खसेको थियो।
दुर्घटनामा स्कार्पियो चालक काठमाडौँको कोटेश्वर निवासी ५४ वर्षीय शक्तिप्रसाद अधिकारी गम्भीर घाइते भएका थिए। उनको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेमा काठमाडौँको कोटेश्वर निवासी ३९ वर्षीया सस्मिता खतिवडा, नवलपरासीको गैँडाकोट घर भई हाल काठमाडौँ बस्दै आएका ३५ वर्षीय भरत पौडेल, बर्दियाकी ३६ वर्षीया डिना सोनाहा, नुवाकोट घर भई हाल काठमाडौँ बस्दै आएका २६ वर्षीय देवेन्द्रराज पाण्डे तथा काठमाडौँको कीर्तिपुर नगरपालिका–५ निवासी ३९ वर्षीय निशान महर्जन रहेका छन्।
घाइतेमध्ये चार जनाको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको महाँकाल गाउँपालिका–२ स्थित मानिखेल स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। स्वास्थ्यकर्मीका अनुसार सबै घाइतेको अवस्था खतरामुक्त छ।
प्रहरीका अनुसार दुर्घटनामा परेको स्कार्पियो एसओएस बालग्राम सानोठिमी, भक्तपुरको हो र त्यसमा कार्यालयका कर्मचारी सवार थिए। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।










