काठमाडौं । नेपाली अटोमोबाइल बजारमा आगामी दुई ठूला अटो शोमार्फत दुईपांग्रे सवारीसाधनका नयाँ मोडलहरू सार्वजनिक हुने भएका छन् । साउन र भदौ महिनामा आयोजना हुने दुई प्रमुख अटो शोमा आठ नयाँ मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा प्रवेश गर्ने तयारीमा छन् ।

साउन २६ गतेदेखि सुरु हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो र भदौ ९ गतेदेखि आयोजना हुने नाडा अटो शो २०२६ लाई लक्षित गर्दै विभिन्न कम्पनीले आफ्ना नयाँ उत्पादन सार्वजनिक गर्न लागेका हुन् । यसपटक विद्युतीय स्कुटरदेखि प्रिमियम मोटरसाइकल र एड्भेन्चर सेग्मेन्टसम्मका मोडलहरू सार्वजनिक हुने भएका छन् ।

ADVERTISEMENT

प्राप्त जानकारीअनुसार अटो शोमार्फत सार्वजनिक हुने प्रमुख दुईपांग्रे मोडलहरूमा यात्री पी२, अल्ट्राभोइलेट एक्स४७, हिरो भिडा, टीभीएस आरटीएक्स ३००, यामाहा एक्सएसआर १५५, मोर्बिडेली २५० एड्भेन्चर तथा बजाज चेतकका दुई नयाँ भेरियन्ट चेतक २५०१ र चेतक ३५०३ रहेका छन् ।

ADVERTISEMENT

नेपालमै डिजाइन तथा निर्माण गरिएको विद्युतीय स्कुटर ‘यात्री पी२’ यसपटकको नाइमा मोबिलिटी एक्स्पोको प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ । यात्री र सिप्रदी ट्रेडिङको सहकार्यमा तयार भएको यो स्कुटर नेपाली बजारमा बढ्दो विद्युतीय स्कुटरको मागलाई लक्षित गर्दै ल्याउन लागिएको हो ।

प्रिमियम विद्युतीय मोटरसाइकल सेग्मेन्टमा अल्ट्राभोइलेट एक्स४७ ले पनि नेपाली बजारमा डेब्यु गर्ने भएको छ । वैद्यज् अर्गनाइजेसनले उक्त मोटरसाइकल नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले सोही अवसरमा मोर्बिडेली ब्रान्डअन्तर्गतको २५० सीसी एड्भेन्चर मोटरसाइकल समेत प्रदर्शन गर्ने जनाएको छ ।

ADVERTISEMENT

विद्युतीय स्कुटर बजारमा हिरो मोटोकर्पको ईभी ब्रान्ड ‘भिडा’ले पनि नेपालमा औपचारिक प्रवेश गर्ने भएको छ। नेपालका लागि हिरोको आधिकारिक वितरक सीजी मोटर्सले भिडा स्कुटरलाई नाइमा मोबिलिटी एक्स्पोमार्फत सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

टीभीएसले आफ्नो पहिलो एड्भेन्चर मोटरसाइकल ‘आरटीएक्स ३००’ नेपाली बजारमा ल्याउने भएको छ । जगदम्बा मोटर्सले वितरण गर्ने उक्त मोटरसाइकललाई अटो शोमार्फत सार्वजनिक गर्ने तयारी भइरहेको छ । एड्भेन्चर र टुरिङ मोटरसाइकलको लोकप्रियता बढिरहेका बेला टीभीएसको यो मोडल नेपाली बजारका लागि महत्त्वपूर्ण उत्पादन मानिएको छ ।

रेट्रो डिजाइन र आधुनिक प्रविधिको संयोजन रहेको यामाहा एक्सएसआर १५५ पनि नाडा अटो शोमार्फत सार्वजनिक हुने सम्भावना छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडले उक्त मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ ।

त्यसैगरी, बजाज चेतक विद्युतीय स्कुटरका दुई नयाँ भेरियन्ट चेतक २५०१ र चेतक ३५०३ पनि नेपाली बजारमा आउने भएका छन् । हाल चेतक ३५०१ बिक्री गर्दै आएको हंशराज हुलासचन्द एण्ड कम्पनीले चेतक परिवारलाई थप विस्तार गर्ने तयारी गरेको हो ।

यीबाहेक अन्य दुईपाँग्रे ब्रान्डहरूले पनि अटो शोमा आफ्नो सहभागिता सुनिश्चित गरिसकेका छन ्। तर, उनीहरूले सार्वजनिक गर्ने नयाँ मोडल वा उत्पादनबारे विस्तृत जानकारी भने हालसम्म सार्वजनिक गरिएको छैन ।

दुई साताको अन्तरालमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो र नाडा अटो शोले यस वर्ष नेपाली दुईपांग्रे बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन तथा प्रिमियम मोटरसाइकलबीचको प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ। ग्राहकहरूको आकर्षण विशेषगरी विद्युतीय स्कुटर र नयाँ सेग्मेन्टका मोटरसाइकलतर्फ केन्द्रित हुने अनुमान गरिएको छ ।