काठमाडौं । नेपालबाट विद्युत निर्यात ६८ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ०८१–८२ को तुलनामा बिजुली बिक्री ६७.९६ प्रतिशतले बढेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
नेपालले भारत र बंगलादेशमा बिजुली बेचेर २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । प्राधिकरणका अनुसार आर्थिक वर्ष ०८२–८३ मा भारत र बंगलादेशमा २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँको बिजुली बिक्री भएको हो । आर्थिक वर्ष २०८१–०८२ मा नेपालले १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँको बिजुली बेचेको थियो ।
बिजुली निर्यात बढ्दा आयात भने घट्दो क्रममा रहेको प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष ०८१–८२ मा १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँको बिजुली आयात गरिएको थियो । आव ०८२–८३ मा १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँको मात्रै बिजुली आयात गरिएको छ ।
यससँगै नेपालले विद्युत् व्यापारबाट मात्रै करिब १९ अर्ब ७७ करोड रुपैयाँ खुद बचत गर्न सफल भएको प्राधिकरणको तथ्यांकले देखाउँछ।
प्राधिकरणले वर्षायाममा देशभित्र खपत भई बच्ने बिजुली भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ । बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डे अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ । प्राधिकरणले भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) लाई पनि बिजुली बेच्ने गरेको छ ।









