काठमाडौं । सरकारले रिक्त रहेका विभिन्न देशका नेपाली राजदूत नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार अर्को सातादेखि केही नाम सिफारिस गर्ने तयारी भइरहेको छ ।
राजदूत नियुक्तिका लागि भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलियालगायत १३ देशका लागि खुला आवेदन मागिएको थियो । आवेदन दिने अन्तिम म्यादसम्म चार हजार चार सयभन्दा बढी आवेदन परेका थिए ।
दोहोरिएका र अपूरा आवेदन हटाएपछि करिब दुई हजार सात सय आवेदन छनोट गरिएको छ । अहिले अन्तिम सूची परराष्ट्रमन्त्री शिशिर खनालको सचिवालयमा पुगेको छ र सम्भावित उम्मेदवारको विवरण अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ । तर, लामो समयदेखि प्रमुख मुलुकमा स्थायी राजदूत नहुँदा नेपालको कूटनीतिक गतिविधि र द्विपक्षीय सम्बन्धमा असर पर्न थालेको विज्ञहरूको भनाइ छ ।
राजदूत नियुक्तिको अन्तिम निर्णय प्रधानमन्त्री, परराष्ट्रमन्त्री र सत्तारूढ दलका शीर्ष नेताबीचको छलफलपछि हुने बताइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार अत्यधिक आवेदन, केही दूतावास बन्द गर्ने सरकारी निर्णय र प्रशासनिक तयारीका कारण छनोट प्रक्रिया अपेक्षाभन्दा केही लम्बिएको हो ।
हाल भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अस्ट्रिया, बहराइन, बंगलादेश, मलेसिया, ओमान र साउदी अरेबियामा नेपाली राजदूत पद रिक्त छन् । यीमध्ये भारत, चीन, अमेरिका र बेलायत नेपालका प्रमुख कूटनीतिक, आर्थिक र रणनीतिक साझेदार राष्ट्र हुन् ।
राजदूत नहुँदा सम्बन्धित मुलुकमा दूतावास कार्यवाहक प्रमुखको नेतृत्वमा सञ्चालन भइरहेका छन् । कार्यवाहकले नियमित प्रशासनिक काम सम्हाल्न सक्ने भए पनि उच्चस्तरीय कूटनीतिक संवाद, द्विपक्षीय सम्झौता, लगानी प्रवद्र्धन, व्यापार विस्तार, पर्यटन तथा श्रमिकका समस्याको समाधानमा स्थायी राजदूतजस्तो प्रभावकारी भूमिका निर्वाह गर्न सक्दैनन् ।
विशेषगरी खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकका हित संरक्षण, भारत र चीनसँगका रणनीतिक सम्बन्ध तथा अमेरिका, बेलायत र अस्ट्रेलियासँगको आर्थिक र शैक्षिक सहकार्यका लागि पनि स्थायी राजदूतको उपस्थिति महत्वपूर्ण मानिन्छ । यही कारण कूटनीतिज्ञहरूले राजदूत नियुक्तिको प्रक्रिया अब थप नलम्ब्याई छिटो टुंग्याउन सरकारलाई सुझाव दिएका छन् ।
परराष्ट्र मन्त्रालयले भने प्रक्रिया अन्तिम चरणमा पुगेको र सिफारिस सार्वजनिक भएपछि नियुक्तिको प्रक्रिया अगाडि बढ्ने जनाएको छ ।






