काठमाडौं । ३० लाख रुपैयाँ आसपासको इभी सेग्मेन्टमा प्रतिस्पर्धा थप रोचक बनेको छ । नेपाली बजारमा बीवाइडी एटो वानलाई टक्कर दिन प्रोटोन इमास फाइभ सार्वजनिक भएसँगै ह्याचब्याक इभी सेग्मेन्टमा नयाँ भिडन्त सुरु भएको हो ।

मूल्यको हिसाबले बीवाइडी एटो वानको डाइनामिक भेरियन्टको मूल्य २९ लाख ७५ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको मूल्य ३३ लाख ८० हजार रुपैयाँ छ । प्रोटोन इमास फाइभको प्राइम भेरियन्ट २९ लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्ट ३४ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छ ।

ADVERTISEMENT

बीवाइडी एटो वानको मुख्य बल यसको ब्लेड ब्याट्री प्रविधि हो । यसमा ३० किलोवाट आवर र ३८.८८ किलोवाट आवरका दुई ब्याट्री विकल्प उपलब्ध छन् । डब्लूएलटीपी परीक्षणअनुसार यसले क्रमशः २३० किलोमिटर र ३०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । कम्प्याक्ट साइज, सहज पार्किङ र स्थापित बिक्रीपछिको सेवा सञ्जाल एटो वानका थप बलिया पक्ष हुन् ।

ADVERTISEMENT

प्रोटोन इमास फाइभ भने ठूलो साइज, बढी पावर र आधुनिक फिचरका कारण प्रतिस्पर्धामा उत्रिएको छ । यसको प्राइम भेरियन्टमा ३०.१२ किलोवाट आवरको ब्याट्री र ५८ किलोवाटको मोटर तथा प्रिमियम भेरियन्टमा ४०.१६ किलोवाट आवरको ब्याट्री र ८५ किलोवाटको मोटर उपलब्ध छ । डब्लूएलटीपी परीक्षणअनुसार यसले २२५ किलोमिटरदेखि ३२५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

इमास फाइभको अर्को विशेषता रियर ह्वील ड्राइभ सिस्टम हो, जुन यस सेग्मेन्टका अधिकांश इभीमा उपलब्ध छैन । साथै, यसमा १४.६ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, ३६० डिग्री क्यामेरा, भीटूएल सुविधा र एडाससहितका विभिन्न सुरक्षा फिचर उपलब्ध छन् । फिचरको हिसाबले इमास फाइभ अगाडि देखिए पनि बीवाइडीले एटो वानलाई सरल, प्रयोगमैत्री र व्यवहारिक इभीका रूपमा प्रस्तुत गरेको छ ।

ADVERTISEMENT

कम बजेटमा कम्प्याक्ट, स्थापित ब्राण्ड र भरपर्दो ब्याट्री प्रविधि खोज्ने ग्राहकका लागि बीवाइडी एटो वान आकर्षक विकल्प बन्न सक्छ । यता, केही बढी मूल्यमा ठूलो साइज, बढी पावर र आधुनिक फिचरसहितको पारिवारिक इभी रोज्ने ग्राहकका लागि प्रोटोन इमास फाइभ बलियो विकल्पका रूपमा देखिएको छ ।