काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले निजी क्षेत्रसँगको छलफललाई जारी राखेका छन् । बालेनले मंगलबार नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे सुरु हुने भेटमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष वसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी हुँदै छन् ।

ADVERTISEMENT

छलफल तयारी पोसाक उद्योगको वर्तमान अवस्था, उद्योगले भोगिरहेका समस्या, उत्पादन तथा निर्यात प्रवर्धन, रोजगारी सिर्जना र उद्योग क्षेत्रको समग्र विकासका विषयमा केन्द्रित हुनेछ।

प्रधानमन्त्रीले निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा सरोकारवाला निकायहरूसँग निरन्तर संवाद गर्दै उनहरूले भोगिरहेका समस्या, समाधानका उपाय र नीतिगत सुधारका विषयमा सुझाव लिने तथा कार्यान्वयनका लागि सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशन दिँदै आएका छन् ।

ADVERTISEMENT

बालेनले सोमबार सेयर बजारसँग सरोकारवाला संघसंस्था र लगानीकर्तासँग छलफल गरेका थिए । यसअघि उनले नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग पनि छलफल गरेका थिए ।