काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खस्नुका साथै नदी तथा खोलाले सडक कटान गर्दा प्रमुख राजमार्ग र सडकखण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा विभिन्न क्षेत्रमा यातायात प्रभावित भएको छ।

प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली, नार्केस्थित बीपी राजमार्गमा बिहान ४ बजे वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

ADVERTISEMENT

खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली चल्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारी साधनको आवागमन रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ।

ADVERTISEMENT

मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको समयमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन गर्न नपाइने जनाइएको छ।

इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जम्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले वैकल्पिक सडक प्रयोग गर्न यात्रुलाई आग्रह गरेको छ।

सिन्धुपाल्चोकमा पनि पहिरोका कारण अरनिको राजमार्गका विभिन्न स्थानमा यातायात अवरुद्ध भएको छ। भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको छ। भोटेकोशी–२ कोदारीको इकु पहिरो तथा लिपिङमा सडक भासिँदा समेत यातायात प्रभावित भएको छ।

त्यस्तै, आज बिहान ५ बजे चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी कच्ची सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको प्रहरीले जनाएको छ।

लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङ आसपास मध्यपहाडी लोकमार्गमा गएराति पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको छ। प्रहरीले उक्त स्थानमा वैकल्पिक सडक प्रयोग गर्न यात्रुलाई आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार अवरुद्ध सडक खुलाउने तथा यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। लगातार वर्षा भइरहेकाले थप पहिरो तथा बाढीको जोखिम रहेको भन्दै सडक यात्रामा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई प्रहरीले आग्रह गरेको छ।