लण्डन । बेलायतकी पूर्व मन्त्री तथा प्रभावशाली राजनीतिज्ञ एन विडिकोम्ब आफ्नै निवासमा मृत फेला परेकी छन्। घटनामा हत्या भएको आशंकामा प्रहरीले २६ वर्षीय एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
बीबीसीका अनुसार डेभोन र कर्नवाल प्रहरीले डेभोनस्थित डार्टमुअरमा रहेको विडिकोम्बको घरबाट उनलाई गम्भीर चोट लागेको अवस्थामा फेला पारेको थियो। घटनास्थलबाट एक संदिग्धलाई नियन्त्रणमा लिइएको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा यो घटना आतंकवाद वा राजनीतिक उद्देश्यबाट प्रेरित भएको देखिएको छैन। घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको छ।
एन विडिकोम्ब बेलायती राजनीतिमा परिचित नाम थिइन्। उनी २३ वर्षसम्म मेडस्टोन निर्वाचन क्षेत्रबाट कन्जरभेटिभ पार्टीकी सांसद रहिन् भने पूर्व मन्त्रीका रूपमा पनि जिम्मेवारी सम्हालेकी थिइन्।
पछिल्ला वर्षहरूमा भने उनी रिफर्म यूके पार्टीकी प्रवक्ताका रूपमा सक्रिय थिइन्। राजनीतिसँगै उनले सन् २०१० मा चर्चित टेलिभिजन नृत्य प्रतियोगिता ‘स्ट्रिक्ली कम डान्सिङ’ मा सहभागिता जनाएपछि पनि व्यापक चर्चा बटुलेकी थिइन्।
हालै राजीनामा दिएका बेलायती प्रधानमन्त्री कीयर स्टार्मरले विडिकोम्बको निधनको खबरले बेलायती राजनीति स्तब्ध बनेको प्रतिक्रिया दिएका छन्।





