काठमाडौं । सामाजिक अभियन्ता रक्षा बमले गणेश नेपालीको आत्मदाह प्रकरणलाई लिएर काठमाडौं महानगरपालिका, यसको नेतृत्व र राज्य संयन्त्रप्रति कडा असन्तुष्टि व्यक्त गरेकी छन्।

शुक्रबार फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै बमले काठमाडौं महानगरपालिकाको नगर प्रहरीको कार्यशैलीलाई ‘अमानवीय, असंवेदनशील र गुण्डागर्दी प्रवृत्तिको’ संज्ञा दिएकी छन्।

ADVERTISEMENT

उनले यस्तो प्रवृत्ति मेयर बालेन्द्र (बालेन) शाहको नेतृत्वमा संस्थागत भएको आरोपसमेत लगाएकी छन्। उनका अनुसार सडक व्यापारी, सुकुम्बासी तथा विपन्न वर्गमाथि अपनाइएको दमनात्मक व्यवहारकै परिणामस्वरूप गणेश नेपाली आत्मदाहजस्तो चरम निर्णय लिन बाध्य भएका हुन्।

ADVERTISEMENT

रक्षा बमले बालेन शाहले चुनावअघि सडक व्यापारीलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाए पनि नेतृत्व सम्हालेपछि गरिबमुखी नीतिभन्दा दमनात्मक शैली रोजेको टिप्पणी गरेकी छन्। अदालतको हस्तक्षेप र नागरिक दबाबपछि मात्रै महानगरको व्यवहार केही परिवर्तन भएको उनको दाबी छ।

उनले कर्णालीमा काफल बेच्ने महिलामाथिको दुर्व्यवहार र वन कर्मचारीको भेषमा गरिबको अटो भिरबाट खसालिएको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै राज्य संयन्त्रभित्रको असंवेदनशील प्रवृत्तिमाथि प्रश्न उठाएकी छन्।

ADVERTISEMENT

गणेश नेपालीको मृत्युको विषयमा दोष अन्तैतिर मोड्ने प्रयास हुन सक्ने आशंका व्यक्त गर्दै उनले वास्तविक जिम्मेवारीबाट उम्किने प्रवृत्तिको पनि आलोचना गरेकी छन्।

बमले बालेन शाहले आफ्नो नेतृत्व शैली पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याउँदै समर्थकहरूले पनि नेतृत्वका कमजोरीमाथि प्रश्न उठाउनुपर्ने बताएकी छन्। अन्यथा यस्ता घटना दोहोरिने र ‘गणेशहरू मरिरहने’ अवस्था अन्त्य नहुने चेतावनी उनले दिएकी छन्।

rakshya stats