काठमाडौं । वीर अस्पतालले पेट्रोल छर्किएर आत्मदाह प्रयास गरी उपचारका लागि भर्ना भएका गणेश नेपालीलाई उच्चतम चिकित्सा सेवा र अथक प्रयासका बाबजुद पनि बचाउन नसकिएको जनाएको छ ।

अस्पतालले शुक्रबार दिउँसो विज्ञप्तिमार्फत नेपाली शरीरको करिब ५५ प्रतिशत भाग जलेको अत्यन्तै नाजुक र जटिल अवस्थामा बिहीबार भर्ना भएको जानकारी गराउँदै अस्पतालको बहुविशेषज्ञ टोली र राज्य संयन्त्रको तर्फबाट रातदिन नभनी उपलब्ध सबै प्रविधि, औषधि र विशेषज्ञताको प्रयोग गर्दा पनि उनलाई बचाउन नसकिएको जानकारी गराएको हो ।

‘मुगुका २५ वर्षीय गणेश नेपाली शरीरको करिव ५५ प्रतिशत भाग जलेको सेभर बर्न अत्यन्तै नाजुक र जटिल अवस्थामा हिजो यस अस्पतालको आकस्मिक कक्षमा भर्ना हुनुभएको थियो। अस्पताल भर्ना भएदेखि नै उहाँको जीवन रक्षाका लागि यस अस्पतालको विशेषज्ञ टोलीले आइसियुमा राखी मेकानिकल भेन्टिलेटरको सहयोगमा चौबीसै घण्टा निरन्तर उपचार गरिरहेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘बिरामीको संवेदनशीलतालाई मध्यनजर गर्दै अस्पतालका प्लाष्टिक सर्जरी, एनेस्थेसिया, र क्रिटिकल केयर विधाका वरिष्ठ विशेषज्ञ चिकित्सकहरू तथा नर्सिङ स्टाफको टोलीले उहाँको ज्यान बचाउनका लागि चिकित्सा विज्ञानले भ्याएसम्मका सबै किसिमका प्रयासहरू गरिरहेका थिए। उहाँलाई थप उच्चस्तरीय उपचारका लागि विदेश लैजाने तयारीसमेत भइरहेको अवस्थामा अचानक स्वास्थ्य स्थितिमा गम्भीर आकस्मिक जटिलता उत्पन्न भएपछि चिकित्सकहरूले तत्काल आपतकालीन सीपीआर सीपीआर र जीवनरक्षक औषधिहरू प्रदान गरी बचाउने अन्तिम क्षणसम्म अथक प्रयास जारी राखेका थिए।’

ADVERTISEMENT

ADVERTISEMENT

अस्पतालले अथक प्रयासका बाबजुद पनि नेपालीलाई बचाउन नसकेकोमा स्तब्ध भएको जनाएको छ ।

ADVERTISEMENT

‘उपलब्ध सबै प्रविधि, औषधि र विशेषज्ञताको प्रयोग गरी निरन्तर प्रयास गर्दागर्दै पनि उहाँको स्वास्थ्य अवस्थामा सुधार आउन सकेन। उपचारकै क्रममा आज शुक्रवार विहान ११.१९ बजे उहाँको दुःखद र असामयिक निधन भएको छ। उपलब्ध उच्चतम चिकित्सा सेवा र अथक प्रयासका वावजुद बिरामीलाई बचाउन नसकेकोमा वीर अस्पताल परिवार पूर्ण रूपमा स्तब्ध भएको छ,’ वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा छ ।