काठमाडौं — नेपाली अडियो तथा वेयरेबल्स ब्रान्ड अल्टिमा लाइफस्टाइलले सोनीको एलड्याक लाइसेन्स र हाई–रेज अडियो प्रमाणपत्र प्राप्त गर्ने पहिलो नेपाली ब्रान्ड बनेको घोषणा गरेको छ।

कम्पनीले यसलाई नेपालको उपभोक्ता प्रविधि उद्योगका लागि ऐतिहासिक उपलब्धि भएको जनाएको छ। कम्पनीका अनुसार यी अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणपत्र प्राप्त गरेसँगै अल्टिमा अब आफ्ना अडियो उत्पादनमा सोनीको एलड्याक ध्वनि प्रविधि प्रयोग गर्न आधिकारिक रूपमा योग्य बनेको छ।

ADVERTISEMENT

एलड्याक उच्च गुणस्तरको ताररहित ध्वनि प्रविधि हो, जसले सामान्य ब्लुटुथ अडियोको तुलनामा धेरै डेटा प्रसारण गर्न सक्ने भएकाले प्रयोगकर्ताले अझ स्पष्ट र उच्च गुणस्तरको ध्वनि अनुभव लिन सक्छन्।

ADVERTISEMENT

त्यस्तै, हाई–रेज अडियो प्रमाणपत्र ले अल्टिमाका उत्पादनले उच्चस्तरीय ध्वनि गुणस्तरका अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको पुष्टि गरेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यस मान्यतासँगै अल्टिमा विश्वका सीमित ब्रान्डमध्ये एक बनेको छ, जसले यी दुवै प्रमाणपत्र प्राप्त गरेका छन्।

अल्टिमा लाइफस्टाइल सोनीको विश्वव्यापी एलड्याक मञ्चमा आधिकारिक रूपमा सूचीकृत हुने पहिलो नेपाली ब्रान्डसमेत बनेको कम्पनीले जनाएको छ। यसले कम्पनीका उत्पादनमा प्रयोग हुने प्रविधि अन्तर्राष्ट्रिय रूपमा प्रमाणित भएको संकेत गर्ने कम्पनीको दाबी छ।

ADVERTISEMENT

कम्पनीका अनुसार यो उपलब्धिले नेपाली उपभोक्तालाई विश्वस्तरीय ध्वनि प्रविधि, नवीनता र उत्कृष्ट ध्वनि अनुभव उपलब्ध गराउने प्रतिबद्धतालाई थप मजबुत बनाएको छ। साथै, यसले नेपालको उपभोक्ता विद्युतीय उपकरण उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाउने विश्वास कम्पनीले व्यक्त गरेको छ।

वि.सं. २०७० (सन् २०१३) मा स्थापना भएको अल्टिमा लाइफस्टाइलले सुरुमा उच्च गुणस्तरका मोबाइल वैकल्पिक ब्याट्री उत्पादनबाट आफ्नो यात्रा थालेको थियो। त्यसयता कम्पनीले अडियो उपकरण, वेयरेबल्स तथा अन्य स्मार्ट उपकरणको उत्पादन विस्तार गर्दै नेपाली बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ।