काठमाडौं — काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीलाई कुनै पनि ट्राफिक जरिवाना नगरिएको स्पष्ट पारेको छ।

कार्यालयले ट्राफिक जरिवानाका कारण उनले आत्मदाह प्रयास गरेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त दाबी निराधार रहेको जनाएको हो।

ADVERTISEMENT

कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार घटनाबारे छानबिन गर्दा गणेश नेपालीलाई कुनै पनि प्रकारको ट्राफिक जरिवाना गरिएको नपाइएको र आत्मदाह प्रयाससँग ट्राफिक प्रहरीको कुनै सम्बन्ध नरहेको निष्कर्ष आएको छ।

उनले घटनाको वस्तुनिष्ठ अनुसन्धान पूरा नहुँदै अपुष्ट र भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यम तथा सर्वसाधारणलाई आग्रह गरेका छन्।गणेश नेपालीले बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका थिए।

ADVERTISEMENT

शरीरको करिब ५५ प्रतिशत भाग जलेका उनको हाल वीर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ। सरकारले उनको उपचार खर्च व्यहोर्ने जनाएको छ।