काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बर्दियाको बाँसगढी नगरपालिका–५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई आवश्यक ब्रेल शैक्षिक सामग्री उपलब्ध गरेको हो । उक्त सहयोग बैंकको बढैयाताल शाखामार्फत गरिएको छ ।
२०४५ मा स्थापना भएको सामुदायिक विद्यालयमा करिब १२ सय विद्यार्थी अध्ययनरत छन् । जसमध्ये २० जना दृष्टिविहीन विद्यार्थीहरूले ब्रेल सामग्रीको सहायताबाट अध्ययन गर्दै आएका छन् ।
विद्यालयमा आवश्यक ब्रेल सामग्रीको अभावका कारण विद्यार्थीहरूको अध्ययन अध्यापनमा कठिनाइ भइरहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले आफ्नो सहयोग उपलब्ध गराएको जनाएको छ ।
एक समारोहका बीच बैंकले विद्यार्थीहरूलाई आवश्यक गुणस्तरका ब्रेल पेपर, ए–ग्रेड ब्रेल स्टाइलस, ए–ग्रेड इन्टरपोइन्ट ब्रेल स्लेट, स्कुल झोला र जज सफ्टवेयर कम्प्युटरलगायत आवश्यक शैक्षिक सामग्री वितरण गरेको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।






