काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा पनि सम्पत्ति शुद्धीकरणमा तानिएका छन् ।
सम्पत्ति शुद्धीकरण विभागले जयवीरलाई सात दिनभित्र हाजिर हुन भनेको छ । पुर्जीमा सम्पत्ति शुद्धीकरण जाँचबुझका क्रममा केही बुझ्नुपर्ने भएकाले सात दिनभित्र विभागमा आउन भनिएको छ ।
पुर्जी बुढानीलकण्ठमा रहेको देउवाको घरमा पनि टाँस गरिएको छ । विभागले जयवीरका बुबासहित आमा आरजुलाई यसअघि नै बोलाइसकेको छ । देउवा दम्पतीले विभागलाई साउन मसान्तसम्ममा आउने जानकारी गराएका थिए ।
यसअघि आरजुको नाममा सम्पत्ति शुद्धीकरणले पत्र काट्दै बुढानिलकण्ठस्थित भग्नावशेष घरमा सूचना टाँस गरेको थियो । तर आरजु उपस्थित भएकी थिइनन् । अब उनका छोरा जयवीर पनि सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित हुनुपर्ने भएको छ । जयवीर लामो समयदेखि विदेशमा बस्दै आएका छन् । उनका नाममा धेरै ठाउँमा जग्गा देखिएकाले विभागले पत्र काटेकाे हाे ।











