काठमाडौँ– वर्षायाम सुरु भएसँगै डेङ्गी सङ्क्रमणको जोखिम बढ्न थालेको भन्दै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

महाशाखाअन्तर्गत किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार केही दिनयता परेको वर्षाले विभिन्न स्थानमा पानी जम्न थालेकाले डेङ्गी सार्ने लामखुट्टेको वृद्धि हुने सम्भावना बढेको छ। आकाशबाट परेको पानी घर, सडक तथा वरपरका खाल्डाखुल्डीमा जम्दा त्यहीँ डेङ्गी सार्ने लामखुट्टे हुर्किने भएकाले सङ्क्रमण फैलिन सक्ने उहाँले बताउनुभयो।

डा. दाहालले अहिले दैनिकजसो वर्षा भइरहेकाले पानी जम्न सक्ने स्थानको नियमित सरसफाइ गर्न, घर वरिपरि पानी जम्न नदिन, सुत्ने बेला झुल प्रयोग गर्न तथा लामखुट्टेको टोकाइबाट जोगिने अन्य उपाय अपनाउन आग्रह गर्नुभयो।

ADVERTISEMENT

महाशाखाका अनुसार असार ९ गतेदेखि १५ गतेसम्म ६३ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। वर्षासँगै लामखुट्टेको संख्या बढ्ने भएकाले आगामी दिनमा सङ्क्रमण अझ बढ्न सक्ने अनुमान गरिएको छ।

ADVERTISEMENT

डा. दाहालका अनुसार नेपालमा डेङ्गीको जोखिम विशेषगरी असारदेखि कात्तिकसम्म रहने गर्छ। डेङ्गी सार्ने एडिस एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेले सफा र जमेको पानीमा फूल पार्ने र त्यसबाट निस्किएको लार्भा वयस्क भएपछि मानिसलाई टोकेर डेङ्गी भाइरस सार्ने गर्छ।

ADVERTISEMENT

महाशाखाले डेङ्गी नियन्त्रणका लागि घर, विद्यालय, कार्यालय तथा सार्वजनिक स्थान वरिपरि पानी जम्न सक्ने सम्भावित स्थानको पहिचान गरी नियमित सरसफाइ गर्न तथा लामखुट्टेले प्रजनन गर्न सक्ने वातावरण नबनाउन सबैलाई अनुरोध गरेको छ।