काठमाडौँ । परराष्ट्र मन्त्रालयले हाल सेवाग्राहीको उच्च मागअनुसार राहदानी पुस्तिका केही न्यून सङ्ख्या भए पनि यो विषय समाधान उन्मुख रहेको जनाएको छ । राहदानी पुस्तिका बाहिर प्रचारमा आएजस्तो अवस्थामा नरहेको मन्त्रालयले स्पष्ट पारेको हो ।

मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग विसं २०८२ साउनमा खरिद सम्झौता गरिसकेको छ । उक्त सम्झौताअनुसार आगामी फागुन ११ गतेदेखि राहदानी सेवा सञ्चालन हुनेगरी पूर्वाधार तथा प्रणाली निर्माणसम्बन्धी कार्य तीव्र रूपमा भइरहेको मन्त्रालयले जनाएको छ ।

ADVERTISEMENT

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, ‘हामी अहिले नयाँ आपूर्तिकर्ता र हालको आपूर्तिकर्ताबीच हुने हेण्डओभर–टेकओभरको सङ्क्रमणकालीन अवस्थामा छौँ । नयाँ खरिद सम्झौताबमोजिम नयाँ सेवा प्रदायकले आगामी फागुन ११ गतेदेखि राहदानी उत्पादन प्रारम्भ गर्ने निश्चित भएको छ ।’

विभागबाट प्रदान गरिने अत्यावश्यक राहदानी सेवा निरन्तर सञ्चालनमा रहने भए पनि अतिआवश्यक परेका आकस्मिक उपचार, तत्काल रोजगारी वा विदेशमा अप्ठ्यारोमा परेको अवस्थाका व्यक्तिले मात्र हाल राहदानीका लागि आवेदन प्रक्रिया अगाडि बढाउन मन्त्रालयले अनुरोध गरेको छ । साथै, मन्त्रालयले यस्तो अवस्थामा सबैले धैर्य गरी सरकारलाई सहयोग पु¥याउन आग्रहसमेत गरेको छ ।

ADVERTISEMENT

हालको सङ्क्रमणकालीन अवस्थामा राहदानीको अभाव नहुने व्यवस्था गर्न आवश्यक कार्य भइरहेको बताउँदै प्रवक्ता क्षेत्रीले कात्तिक १७ गते साँझ ५ बजेदेखि दैनिक (सार्वजनिक बिदाको अघिल्लो दिनबाहेक) एक हजारजनाको आवेदन लिने व्यवस्था मिलाइएको जानकारी दिए । यसबाट हालको अत्यावश्यक माग पूरा गर्न सकिने मन्त्रालयको अपेक्षा छ ।

मन्त्रालयले आगामी फागुन ११ गतेदेखि राहदानी सेवा पूर्ण रूपमा सञ्चालन हुने भएकाले हालको सङ्क्रमणकालीन अवस्थामा अत्यावश्यक भएमात्र आवेदन दिनहुन सबैमा आग्रह गरेको छ ।

अहिलेकै मागअनुसार दिने हो भने पुस मसान्तसम्मलाई मात्रै पुग्ने राहदानीको मौज्दात छ । त्यसपछि अभाव हुने छ । ठेकेदार जर्मन कम्पनीले फागुन ११ मा मात्रै राहदानी छपाइ गर्ने भएपछि सरकारले अहिले दैनिक एक हजार राहदानी कोटा निर्धारण गरेको छ । जबकि यसअघि दैनिक तीन हजार राहदानी वितरण हुँदै आएको थियो । अब दुई लाख थान राहदानीको मौज्दात छ ।