काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय वनस्थलीमा केहीबेरअघि बैठक सुरु भएको हो ।
चितवनमा हालै सम्पन्न प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथलगत्तै बैठक सुरु भएको हो । पार्टी सभापति रवि लामिछानेले बुधबार नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाएका थिए । शपथ कार्यक्रममा प्रधानमन्त्री एवं रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेन भने अनुपस्थित रहे ।
रास्वपा महाधिवेशनले शाहलाई वरिष्ठ नेता निर्वाचित गरेको थियो । तर उनले शपथ लिन ढिलाइ गरेका छन् । ६ महिनाअघि रास्वपाको वरिष्ठ नेता मनोनीत भएका धेरैपछि उनले पार्टी कार्यालय पुगेर शपथ लिई १० मिनेट मात्र बसेर निस्केका थिए ।
रास्वपाको केन्द्रीय समिति बैठकमा पदाधिकारी र केन्द्रीय सदस्य मनोनीत गर्ने, नेताहरूको जिम्मेवारी बाँडफाँडलगायतबारे छलफल हुने भएको छ । रास्वपाको विधानमा सभापतिलाई ५१ जना केन्द्रीय सदस्य र १२ जना पदाधिकारी मनोनीत गर्ने अधिकार दिइएको छ । सोहीअनुसार सभापति लामिछानेले सबैसँग छलफल गरेर निर्णय गर्ने नेताहरुको भनाइ छ ।






