काठमाडौं । रास्वपा निर्वतमान महामन्त्री कविन्द्र बुर्लाकोटीले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीमा सहमति र एकताको सम्वर्धनका लागि उम्मेदवारी फिर्ता लिएको उनले जानकारी गराएका छन् ।

बुर्लाकोटी यसअघि केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन् । पार्टी संस्थापक सदस्य, सहमहाममन्त्री, कार्यबाहक महामन्त्री हुँदै एक वर्ष महामन्त्रीको जिम्मेवारी सम्हालेका बुर्लाकोटीले यसपटक महामन्त्रीमा सहपाठीसँग प्रतिस्पर्धा गर्न चाहेनन् । उनले पार्टीमा एउटा जिम्मेवारीका लागि करिब दर्जन उम्मेदवार साथीहरूसँग भिडेर जिम्मेवारीको दौडमा रहनु खास चाहनाको विषय नरहेको प्रस्टीकरण दिएका छन् ।

‘आफ्नो व्यवस्थापनको लागि होइन, राजनीतिक भविष्यका लागि पनि होइन, तर राष्ट्र निर्माणका लागि एकजुट हुनुपर्ने ठाउँमा हामी आफै कमजोर हुने दिशामा जानु हुँदैन । तसर्थ पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन भरतपुर, चितवनमा जारी केन्द्रीय पदाधिकारी निर्वाचनका क्रममा महामन्त्री पदमा दिएको उम्मेदवारी समझदारी कायम होस् र पार्टीमा सकारात्मक एवं बृहत् एकताको चिन्तन सम्वर्धन होस् भन्ने अभिप्रायले व्यक्तिगत र पार्टीको शुभचिन्तकहरूसँग आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी गराउँछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । बुर्लाकोटीले आफू केन्द्रीय समितिमै रहेर उचित जिम्मेवारी निर्वाह गर्ने बताएका छन् ।

ADVERTISEMENT

ADVERTISEMENT

यस्तै रास्वपाकाे महामन्त्री पदमा उम्मेदवारी दिएका गणेश पराजुली र प्रमाेद न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरूले महामन्त्रीमा विपीन आचार्यलाई समर्थन गरेका छन् । यसअघि निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकाेटीले पनि उम्मेदवारी फिर्ता लिई आचार्यलाई समर्थन गरेका छन् । महामन्त्रीमा गणेश कार्कीकाे उम्मेदवारी भने यथावत् छ ।

ADVERTISEMENT

राजुराज पाण्डेले पनि महामन्त्रीको उम्मेदवारी फिर्ता लिएका छन् । उनी वरिष्ठ नेता बालेन्द्र शाह बालेन निकट हुन् । महामन्त्रीका लागि शिशिर खनाल र जगदीश खरेलले पनि उम्मेवारी दिएका थिए ।