चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक सूचीमा ३८४ जनाको नाम समावेश गरिएको छ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बुधबारबाट मतदान सुरु गर्ने कार्यतालिका रहे पनि प्रतिनिधिको संख्या र विवरण व्यवस्थापनमा देखिएको समस्याका कारण मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन।
निर्वाचन आयोगले उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरेसँगै दाबी–विरोध तथा आवश्यक प्रक्रियाहरू अघि बढाइने जनाएको छ।
चितवनमा जारी महाधिवेशनमा पार्टीको नयाँ नेतृत्व चयनका लागि प्रतिनिधिहरूको चासो उच्च देखिएको छ। पार्टीले महाधिवेशनका बाँकी कार्यक्रम सकेर यथाशीघ्र निर्वाचन प्रक्रिया सम्पन्न गर्ने तयारी गरिरहेको जनाएको छ।






