काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको पहिलो चरणको मतदान बुधबार साँझदेखि मात्र सुरु हुने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले केन्द्रीय सदस्यका उम्मेदवारको नामावली तयारीसँगै अन्य प्रक्रिया पूरा गर्न तीन घण्टा लाग्ने भएको हो ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बुधबार पत्रकार सम्मेलन आयोजना गरी निर्वाचन प्रक्रिया सुरु हुन केही समय लाग्ने जानकारी दिए ।

‘केन्द्रीय सदस्यको उम्मेदवारी अध्ययन, दाबी विरोध, विद्युतीय मतदान उपकरणमा उम्मेदवारको नामावली प्रविष्ट गर्नेलगायत काम बाँकी रहेकाले दुईदेखि तीन घण्टा लाग्न सक्छ,’ उनले भने ।

ADVERTISEMENT

अहिले सबै काम भइरहेको भन्दै बुर्लाकोटीले ३७० जनाको उम्मेदवारी परेको जानकारी दिए । कतिपय दोहोरिएकाले उम्मेदवारको सङ्ख्या घटेको उनले बताए ।

ADVERTISEMENT

प्रतिनिधिको समस्या समाधानका लागि तीनवटा हेल्प डेस्क बनाएर काम सुरु गर्न लागिएको उनले जानकारी दिए । ‘खाना खान प्रयोेग भइरहेको हल पछाडि तीनवटा डेस्क बनाएर काम गरिएको छ,’ उनले भने । प्रदेशका सभापति र महामन्त्रीमार्फत समस्या समाधानका लागि काम भइरहेको बुर्लाकोटीको भनाइ छ ।

ADVERTISEMENT

मतदानमा ढिलाइ भएको र बिहीबार दोस्रो चरणको निर्वाचन हुने भएपछि धेरैजसो महाधिवेशन प्रतिनिधि घर फर्किन थालेका छन् । चितवनको अत्यधिक गर्मीका कारण धेरैजसो प्रतिनिधिको अवस्था बेहाल भएको छ ।

पार्टीको केन्द्रीय नेतृत्व चयनका क्रममा सभापति पदमा रवि लामिछाने र वरिष्ठ नेतामा बालेन शाह निर्विरोध निर्वाचित भइसकेका छन्। शीर्ष दुई पद सर्वसम्मत भए पनि अन्य पदहरूमा भने आकांक्षीहरूको  लर्को देखिएको छ। विशेष गरी पार्टीको शक्तिशाली मानिने महामन्त्री पदका लागि ६ जना नेताहरू चुनावी मैदानमा उत्रिएका छन्। संगठन विभाग प्रमुखको समेत जिम्मेवारी रहने उक्त पदका लागि वर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीसहितका नेताहरू बलिया दाबेदार देखिएका हुन्।

रास्वपाको विधानअनुसार दुईजना महामन्त्री हुने व्यवस्था छ। जसका लागि हालका सहमहामन्त्री विपिन आचार्य, शिशिर खनाल, मनिष झा, गणेश पराजुली र भुवदेव शाहले आकांक्षा देखाएका छन्। आकांक्षीमध्ये भुवदेव शाहलाई भने पछि मनोनीत कोटाबाट महामन्त्री बनाउने आन्तरिक गृहकार्य समेत भइरहेको बुझिएको छ।