काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको ९९ जना केन्द्रीय सदस्य पदका लागि ३५५ जनाको उम्मेदवारी परेको छ।
केन्द्रीय निर्वाचन आयोगकाअनुसार भूगोल (प्रदेश) मा १७४ जनाको उम्मेदवारी परेको छ । खुलातर्फ ८५ जनाको उम्मेदवारी परेको छ । समावेशी समूहतर्फ ९६ जनाको उम्मेदवारी परेको छ ।
उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेपछि विद्युतीय मतदान मेसिन ईभीएममा इन्ट्री सुरू गरिनेछ। उम्मेदवारको नाम मेसिनमा इन्ट्री गर्न कम्तीमा ६ घण्टा समय लाग्ने निर्वाचन आयोगले जनाएको छ।
महाधिवेशनमा ४१ सय प्रतिनिधि सहभागी छन् । आयोगकाअनुसार एउटा व्यक्तिलाई भोट हाल्न १५ मिनेट लाग्नेछ। भोटिङका लागि ८० वटा मेसिन राखिएको छ । एकपटकमा ८० जनाले भोट हाल्न पाउनेछन् । यो हिसाबले ८ देखि १० घण्टा मतदानमै लाग्ने अनुमान छ ।
रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार एक प्रतिनिधिले मतदान गर्न करिब १५ देखि २० मिनेट समय लाग्ने अनुमान गरिएको छ । महाधिवेशनमा करिब ४ हजार प्रतिनिधि सहभागी रहेकाले मतदान प्रक्रियालाई सहज बनाउन पर्याप्त संख्यामा भोटिङ मेसिन प्रयोगमा ल्याउन लागिएको उनले बताए ।
प्रवासमै रहेका प्रतिनिधिलाई पार्टीको मोबाइल एपमार्फत मतदानको व्यवस्था गरिएको छ । रास्वपामा १५८ केन्द्रीय समिति छ । जसमा सभापति एक, मनोनीत ५१, निर्वाचित ९९ र ७ प्रदेश सभापति पदेन सदस्य छन् । केन्द्रीय सदस्यको निर्वाचनपछि पदाधिकारीको निर्वाचन हुनेछ । पदाधिकारीमा उम्मेदवार बन्न केन्द्रीय सदस्य निर्वाचित हुनुपर्छ ।






