काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा तनाव उत्पन्न भएको छ। विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत छलफलका क्रममा मन्त्रीको जवाफमाथि पुनः स्पष्टीकरण सोध्न नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले संसद्को वेल घेराउ गरेपछि तनाव उत्पन्न भएको हो ।

बैठकमा मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नहरूको जवाफ दिन उद्योगमन्त्री गौरीकुमारी यादव रोष्ट्रममा उभिएकी थिइन्। मन्त्रीले सांसदहरूका प्रश्नको जवाफ दिइरहेकै समयमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले उठेर पुनः स्पष्टीकरण सोध्ने प्रयास गरे।

तर, सभामुख डोलप्रसाद अर्यालले नियमानुसार स्पष्टीकरणमाथि पुनः स्पष्टीकरण सोध्न नमिल्ने भन्दै साम्पाङलाई बस्न आग्रह गरे। सभामुखको आग्रह लत्याउँदै साम्पाङले उठेर अवरोध जारी राखेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नियमापत्ति जनाए। झाले प्रतिनिधिसभा नियमावलीको नियम ५४ र ५५ उल्लेख गर्दै मन्त्रीले जवाफ दिइसकेपछि संसद्मा पटकपटक विवाद गर्न नमिल्ने बताए।

ADVERTISEMENT

उनले नियमावलीअनुसार मन्त्रीलाई उत्तर दिन अस्वीकार गर्न सक्ने अधिकार समेत रहेको स्पष्ट पार्दै साम्पाङलाई बालहठ नगर्न र नियम पढ्न आग्रह गरे।झाको नियमापत्ति र सभामुखको निर्देशनका बाबजुद साम्पाङलाई स्पष्टीकरण सोध्न नदिएपछि श्रम संस्कृतिका सांसदहरू वेल घेराउ गर्न पुगेका थिए।

ADVERTISEMENT

त्यसपछि सभामुख अर्यालले संसद्को मर्यादा कायम राख्न र सभामुखको आदेश पालना गर्न श्रम संस्कृति पार्टीका सांसदहरूलाई सचेत गराए। तर श्रम संस्कृति पार्टीका सांसदहरूले त्यसलाई मानेनन् । नाराबाजी गरिरहे । सांसदहरुकाे नाराबाजी नराेकेपछि सभामुख अर्यालले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरेका छन् ।

ADVERTISEMENT