काठमाडौं। ब्राजिलको रियो दि जेनेरियोमा आइतबार बिहान दुई हेलिकोप्टर आकाशमै एक–आपसमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको छ।
स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनापछि दुवै हेलिकोप्टर सहरको पश्चिमी क्षेत्रमा रहेको एक विद्युतीय गाडी (इलेक्ट्रिक कार) डिलरसिपको पार्किङ क्षेत्रमा खसेका थिए। ठक्कर लगत्तै हेलिकोप्टरमा आगलागी भएको र आगो पार्किङमा रहेका गाडीहरूमा समेत फैलिएको थियो।
दमकल विभागका अनुसार आगलागीका कारण कम्तीमा २० वटा विद्युतीय गाडी पूर्ण रूपमा जलेर नष्ट भएका छन्। उद्धार टोलीले करिब एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार नागरिक उड्डयन प्राधिकरणलाई बुझाइएको यात्रुहरूको प्रारम्भिक सूचीमा अमेरिकी गायक तथा कमेडियन ओलिभर ट्रिको नाम पनि समावेश रहेको बताइएको छ। यद्यपि दुर्घटनामा ज्यान गुमाउने व्यक्तिहरूको आधिकारिक पहिचान अझै खुल्न सकेको छैन।
ओलिभर ट्रिले जुन ४ मा अर्जेन्टिनामा प्रस्तुति दिएका थिए भने शनिबार मात्रै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा ब्राजिलको एक बस्तीमा फुटबल खेलिरहेको भिडियो सार्वजनिक गरेका थिए।
स्थानीय सञ्चारमाध्यमका अनुसार एउटा हेलिकोप्टर भुइँमा खस्नेबित्तिकै विस्फोट भएको थियो, जसले गर्दा नजिकै पार्क गरिएका विद्युतीय गाडीहरूमा समेत आगो सल्किएको थियो।
अधिकारीहरूले दुर्घटनामा ज्यान गुमाउने सबै व्यक्ति हेलिकोप्टरका चालक दलका सदस्य रहेको बताएका छन्। आकाशमा उडिरहेका दुई हेलिकोप्टर कसरी एक–आपसमा ठोक्किए भन्ने विषय अझै स्पष्ट हुन नसकेको र घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको जनाइएको छ।








