काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा किचलो उत्कर्षमा पुगेकै बेला इतर समूहले आइतबार विराटनगरमा कोशी प्रदेशस्तरीय भेला आयोजना गरेको छ ।
भेलामा कांग्रेस नेता डा शेखर कोइराला, डा शशांक कोइराला, कृष्णप्रसाद सिटौला, डा मिनेन्द्र रिजाल, एनपी साउद, बलबहादुर केसीलगायत नेताहरु सहभागी छन् । इतर समूहले गरेको भेलामध्ये विराटनगरको आजको भेलालाई देउवा–कोइराला समूहको शक्ति प्रदर्शन भनेर व्याख्या गरिएको छ ।
कोशी कांग्रेसमा कोइराला परिवारको बलियो पकड छ । संस्थापन पक्षमा उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरे मात्र शीर्ष नेता छन् । अन्य नाम चलेका शीर्ष नेता सबै कोइराला समूहमा छन् । देउवा–कोइराला समूहले आजको प्रदेशस्तरीय भेलालाई कांग्रेसमा एकता कायम राख्न दबाबस्वरूप गर्न लागेको बताइन्छ ।
संस्थापन पक्षले भने इतर समूहको भेलालाई खासै चासो राखेको देखिन्न । पार्टी छाडेर जानेलाई नरोक्ने, कांग्रेसमै बसेर राजनीति गर्न चाहनेका लागि ढोका खुल्लै राखेको जनाएको छ । जेठ १६ गते नै कांग्रेस संस्थापन पक्षले एकताका लागि सातबुँदे प्रस्ताव पठाएको थियो । तर पूर्णबहादुर खड्का, शेखर कोइरालालगायतले त्यसबारे कुनै चासो देखाएको देखिएन ।









