काठमाडौं । वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहसहित सातजनाविरुद्ध सोमबार भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनीहरूविरुद्ध आरोपपत्र दायर गरेको हो ।

अर्कैको छोरीलाई आफ्नी छोरी दाबी गरी झुटो विवरणका आधारमा नेपाली नागरिकता दिलाएको आरोपमा सिंहसहित सातजनाविरुद्ध आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । भ्रष्टाचार मुद्दा दर्ता भएसँगै सिंहको मेयर पद निलम्बनमा परेको छ ।

ADVERTISEMENT

नगर प्रमुख सिंहले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की रीता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नी छोरी बनाएर नागरिकता दिलाएका थिए । यसका लागि उनले स्थानीय जनप्रतिनिधि र कर्मचारीहरूसँग मिलेमतो गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

२०७१ कात्तिक २० गते वीरगन्ज महानगरपालिका–३ को कार्यालयमा रुविना श्रेष्ठको झुटो विवरण राखी जन्मदर्ता प्रमाणपत्र बनाइएको थियो । सोही जन्मदर्ता प्रमाणपत्रका आधारमा वडाबाट सिफारिस गराई जिल्ला प्रशासन कार्यालय, पर्साबाट २०७५ साउन १३ गते रुविनाको नाममा नागरिकता जारी गरिएको थियो ।

ADVERTISEMENT

अख्तियारले नगर प्रमुख सिंह र बालिकाकी आमालाई यो अवैध काम गराउन मुख्य सहयोगी (मतियार) बनेको अभियोग लगाएको छ । तत्कालीन वडा सचिव भिखारी राय र तत्कालीन वडा सदस्य तथा कार्यवाहक वडाध्यक्ष तैफुल अख्तर ठकुराईमाथि जानीजानी गलत सरकारी कागजात (जन्मदर्ता र नागरिकता सिफारिस) तयार पारेको आरोप छ ।

गलत विवरणका आधारमा नागरिकता जारी गर्ने प्रक्रियामा संलग्न रहेको भन्दै जिल्ला प्रशासन कार्यालय, पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेललाई पनि प्रतिवादी कायम गरिएको छ ।