काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशम्शेर राणाले पार्टीले आफ्नो वैधानिक हैसियत गुमाएको दाबी गर्दै नयाँ राष्ट्रवादी शक्ति निर्माणका लागि अपिल गरेका छन् । राणाले बुधबार विज्ञप्ति जारी गर्दै नेतृत्वको अदूरदर्शिता र गैरजिम्मेवारीपनका कारण पार्टी अहिलेको गम्भीर अवस्थामा आइपुगेको आरोपसमेत लगाएका छन् ।

एकता महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको कार्यकाल गत मंसिरमै समाप्त भए पनि ६ महिना थप गरिएको र त्यो जेठ १९ (मंगलबार) सम्म कायम रहेकामा त्यसको म्याद पनि सकिएको भन्दै वैधानिक हैसियत गुमाएको उनको भनाइ छ ।

ADVERTISEMENT

राणाका अनुसार वैधानिक बाध्यताका कारण एक वर्षअघि नै उपाध्यक्ष हेमजंग गुरुङको संयोजकत्वमा गठित महाधिवेशन सुझाव समितिले जेठ महिनाभित्र महाधिवेशन गर्न सुझाव दिएको थियो । जसअनुसार ६ महिना समय थप गरिए पनि जेठ १९ गते उक्त समय सीमा सकिएसँगै पार्टीले वैधानिकता गुमाएको राणाको तर्क छ ।

राणाले पार्टी नेतृत्व (अध्यक्ष) ले आफूविरुद्ध दुष्प्रचार गरेको आरोपसमेत लगाएका छन् । ‘औपचारिक र अनौपचारिक बैठकहरूमा दिइएका सुझाव र सल्लाह कहिल्यै स्वीकार नगर्ने तथा निर्णय भए पनि कार्यान्वयन नगर्ने पुरानै प्रवृत्तिलाई ढाकछोप गर्न मलाई ‘अधिवेशनको तालिका तयार पार्ने जिम्मा दिएको र जिम्मेवारीबाट पन्छिएको’ भन्ने भ्रमपूर्ण अभिव्यक्ति आउनु हास्यास्पद छ,’ उनले विज्ञप्तिमा भनेका छन् ।

आफ्ना कमीकमजोरी अरुमाथि लादेर, चोखो बन्ने निर्लज्ज र गैरजिम्मेवार शैलीको प्रमाण हो यो भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनको तीखो आलोचना गरेका छन् ।

‘नेतृत्वको यस्तै गैरजिम्मेवार शैली र आत्मकेन्द्रीत प्रवृत्तिका कारण गत चुनावमा पार्टीले आफ्नो साख मात्र गुमाएन, हाम्रा वैचारिक मूल्य मान्यता तथा सैद्धान्तिक आधारसमेत धरापमा पर्यो । साथै, पार्टी जनताबाट तिरष्कृत बन्यो । जसका कारण पार्टीका सयौं साथीहरु पार्टी छोडेर अन्यत्र गए र मक्किएको घर अलपत्र बन्यो । जहाँ विश्वासका संकट हुन्छ त्यहाँ लक्ष्यको मार्ग अवरुद्ध हुन्छ,’ उनले भनेका छन् ।

धवलशमशेरले पार्टी त्यागेसँगै राप्रपा छिन्नभिन्नको बाटोमा अघि बढेको छ । अहिले पशुपतिशमशेर राणाको निवास विजयावासमा राप्रपाका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । धवलशमशेर भने दुर्गा प्रसाईसँग मिलेर मलमास सकिएलगत्तै असार ३ पनि नयाँ दल दर्ता गर्ने तयारीमा छन् ।