काठमाडौं । अभिभावक र निजी विद्यालयका सञ्चालकहरूले विद्यालयमा लगाइएको ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत निजी शिक्षण संस्थाबाट असुल हुने सम्पूर्ण शुल्कमा ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ लगाउने व्यवस्था गरेपछि सरोकारवालाहरूले यसको विरोध गर्दै पुनर्विचार गर्न आग्रह गरेका छन् ।

ADVERTISEMENT

सोमबार अभिभावक तथा विद्यालय क्षेत्रका सरोकारवालाबिच यसबारेमा गम्भीर छलफल भएको छ । नेपाल अभिभावक संघका अध्यक्ष केशव पुरी, राष्ट्रिय अभिभावक संघका अध्यक्ष कोषबहादुर जी.सी., राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)की केन्द्रीय अध्यक्ष गीता क्षेत्री (राणा) लगायत केन्द्रीय पदाधिकारीहरूबीच विस्तृत छलफल सम्पन्न भएको हो ।

ADVERTISEMENT

छलफलमा महासचिव प्रतापबहादुर थापा, पूर्वअध्यक्ष कर्णबहादुर शाही, पूर्वअध्यक्ष रितुराज सपकोटा, वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर अधिकारी, उपाध्यक्ष कुमारबहादुर भट्टराई, कृष्णकुमार उप्रेती तथा केन्द्रीय सदस्य सीता चौधरी (कैलाली) लगायतको सहभागिता थियो ।

सरकारले आर्थिक विधेयकको अनुसूची–७ मा व्यवस्था गरेअनुसार निजी क्षेत्रबाट सञ्चालित विद्यालय, महाविद्यालय, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयलगायतका संस्थाले विद्यार्थीबाट लिने सबै प्रकारका शुल्कमा ३ प्रतिशत शिक्षा समता शुल्क लगाई असुलउपर गर्नुपर्ने उल्लेख गरिएको छ । यद्यपि सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित गैरनाफामूलक संस्थालाई भने उक्त शुल्क लागू नहुने व्यवस्था छ ।

विधेयकको दफा ३ अनुसार शिक्षण संस्थाले विद्यार्थीबाट शुल्क लिँदा अनिवार्य रूपमा बीजक (बिल) जारी गरी उक्त शुल्क समेत समावेश गरेर असुल गर्नुपर्ने प्रावधान छ । यसले आगामी आर्थिक वर्षदेखि विद्यालय शुल्कमा प्रत्यक्ष रूपमा ३ प्रतिशत अतिरिक्त भार थपिने देखिएको छ ।

छलफलका क्रममा सहभागीहरूले यो निर्णयले अभिभावक तथा विद्यार्थीमाथि अतिरिक्त आर्थिक दबाब सिर्जना गर्ने भन्दै गम्भीर चासो व्यक्त गरेका छन् । साथै, यसले निजी शिक्षा क्षेत्रको सञ्चालनमा समेत असर पार्नसक्ने सम्भावनाबारे छलफल गरिएको छ । नेसनल प्याब्सनकी अध्यक्ष गीता राणाले शिक्षा क्षेत्रमा कुनै पनि नयाँ कर वा शुल्क लागू गर्दा सरोकारवालासँग पर्याप्त परामर्श हुनुपर्ने आवश्यकता औँल्याउँदै यस विषयमा सरकारसँग थप संवाद र समन्वय आवश्यक रहेको बताइन् ।

महासचिव प्रतापबहादुर थापाले यस्तो शुल्कले अभिभावकको आर्थिक बोझ बढाउने भएकाले व्यावहारिक पक्षलाई ध्यानमा राखेर पुनर्विचार गर्नुपर्ने धारणा राखे । उनका अनुसार निजी विद्यालयहरू पहिले नै विभिन्न सञ्चालन खर्चको दबाबमा रहेका अवस्थामा थप करले सेवा प्रवाहमा असर पार्न सक्नेछ ।

छलफलमा सहभागी अन्य पदाधिकारीहरूले पनि शिक्षा क्षेत्रलाई करको अतिरिक्त भारबाट जोगाउँदै गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । छलफलपछि सरोकारवालाहरूले विद्यार्थी, अभिभावक तथा विद्यालय समुदायको हितलाई ध्यानमा राख्दै सम्बन्धित सरकारी निकायसँग संयुक्त रूपमा संवाद अगाडि बढाउने निर्णय गरेका छन् ।