काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव नरेन्द्रकुमार रानालाई सरकारले स्पष्टीकरण सोधेको छ ।
लामो समयदेखि बिना जानकारी गैरहाजिर रहेको भन्दै मन्त्रालयले मंगलबार सार्वजनिक सूचना निकालेर स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको हो । अन्यथा, कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।
ʿतपाईंलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड (छ) को कसुरमा सोही ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (१) बमोजिम सजाय गर्नुनपर्ने उचित आधार र कारण केही भए निजामती सेवा नियमावली, २०५० को नियम ११० को खण्ड (क) बमोजिम १५ दिनभित्र सफाइ पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।
मन्त्रालयका अनुसार सहसचिव राना बिदा स्वीकृत नगराई गत माघ ११ गतेदेखि गैरहाजिर छन् ।
भूमिव्यवस्था मन्त्री प्रतिभा रावलले सहसचिव राना २०८२ माघ ११ गतेदेखि कार्यालयमा अनुपस्थित रहेको जनाएकी छन् । ‘निजामती सेवा ऐन, २०४९ बमोजिम उनलाई सरकारी सेवाबाट हटाउने गरि कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएकाले १५ दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेश गर्न भनिएको छ,’ उनले भनेकी छन् ।





