काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतले आदेश दिएको छ ।
मंगलबार भएको थुनछेक बहसपछि भएको सुनुवाइमा प्रसाईलाई अदालतले साधारण तारेखमा छाड्न आदेश सुनाएको हो । प्रसाईको रिटको सुनुवाइ न्यायधीश गायत्री प्रसाई रेग्मीको इजलासमा भएको थियो ।
सुनुवाइपछि साधारण तारेखमा राख्न आदेश भएको पर्सा जिल्ला अदालतको श्रेस्तदार प्रभाकर मल्लिकले बताए ।
प्रसाईंविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय पर्साले सोमबार विद्युतीय कारोबार तथा राज्यविरुद्धको कसुरसम्बन्धी मुद्दा दर्ता गरेको थियो ।
प्रसाईंलाई गत जेठ ४ गते राति सिद्धार्थ दियालो होटलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । वीरगन्ज आएका बेला पक्राउ परेका प्रसाईंले आफूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । सर्वोच्चले चार दिनभित्र सबै अनुसन्धान सकेर प्रसाईलाई रिहा गर्न आदेश दिएको थियो ।
अदालतमा सोमबार मुद्दा दायर हुँदा उनीविरुद्ध विद्युतीय (इलेक्टोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्य विरुद्धको कसुरमा सजाय हुनुपर्ने मागदावी लिइएको थियो ।
प्रसाईले युट्युबमा महिलाहरूलाई लाञ्छना लगाएर अपशब्द बोलेको र राज्यका निकाय सेना र प्रहरीलाई होच्याउने अश्लील टिप्पणी गरेको थिए । सेना र प्रहरीका आईजीपी दानबहादुर कार्कीले सार्वजनिक गरेको गीतबारे पनि प्रसाईँले अश्लील टिप्पणी गरेको आरोप उनीमाथि छ ।








