काठमाडौं । नेपालको अग्रणी डिस्टिलरी कम्पनी प्रिमियर डिस्टिलरी लिमिटेडले आफ्नो नयाँ प्रिमियम ब्राण्ड ‘८ पीक्स’ औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
द हिमालयन रिजर्भ ब्लेन्डेड ह्विस्की, ओल्ड मंक ७ वर्षे रम, ओल्ड मंक लेजेन्ड रम तथा ब्ल्याक स्टालियनजस्ता लोकप्रिय प्रिमियम ब्राण्डमार्फत उपभोक्तामाझ स्थापित प्रिमियर डिस्टिलरीले नयाँ उत्पादनलाई विशेष अवधारणासहित बजारमा ल्याएको जनाएको छ ।
कम्पनीका अनुसार संसारभर रहेका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये ८ वटा नेपालमै रहेको तथ्यबाट प्रेरित भएर ‘८ पीक्स’ नाम चयन गरिएको हो । हिमाली शृङ्खलाबाट बग्ने शुद्ध जलधारालाई आधार बनाएर उत्पादन तयार गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले परम्परागत तामाको स्टिल प्रयोग गरी गरिएको फ्र्याक्सनल डिस्टिलेसन प्रविधिलाई आणविक स्तरको रूसी चारकोल तथा चाँदी फिल्ट्रेशनसँग संयोजन गरेर उत्पादन तयार गरिएको उल्लेख गरेको छ । यस प्रक्रियाले अशुद्धता हटाएर शुद्ध र मृदु स्वाद प्रदान गर्ने दाबी गरिएको छ ।
‘८ पीक्स’लाई हिमाली तालजस्तै पारदर्शी सिसाको बोतल तथा आकाशजस्तो निलो लेबलसहित बजारमा प्रस्तुत गरिएको छ । कम्पनीका अनुसार यस उत्पादनले नेपालको प्राकृतिक गौरव, आधुनिक जीवनशैली र स्टाइलिश पहिचानलाई एकसाथ झल्काउने प्रयास गरेको छ ।
देशभर गरिएको उपभोक्ता स्वाद परीक्षणमा ९९ प्रतिशत सहभागीले ‘८ पीक्स’ मन पराएको कम्पनीले जनाएको छ । यसले उत्पादनको बजार सम्भावना अझ बलियो बनेको कम्पनीको विश्वास छ ।
कम्पनीका अनुसार ‘८ पीक्स’ आगामी १५ देखि २० दिनभित्र नेपालभरका प्रमुख शहरहरूमा उपलब्ध हुनेछ । यो ७५० एमएल, ३७५ एमएल र १८० एमएलका बोतलमा बजारमा आउनेछ ।








