हुम्ला। वर्षायाम सुरु भएसँगै कैलाश मानसरोवर दर्शनका लागि हुम्ला हुँदै जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ्न थालेको छ। सिजन सुरु भएको चार दिनमै १६९ तीर्थयात्री सिमकोट पुगेका छन्।

नेपालगञ्जबाट हवाईमार्ग हुँदै सिमकोट र त्यसपछि हिल्सा नाका भएर चीनस्थित कैलाश मानसरोवर पुग्ने तीर्थयात्राको क्रम सुरु भएसँगै हुम्लामा चहलपहल बढेको हो। सिमकोट विमानस्थलका अनुसार वैशाख ३० गतेदेखि हालसम्म १४७ भारतीयसहित २२ विदेशी नागरिक गरी कुल १६९ जना तीर्थयात्री सिमकोट आइपुगेका छन्।

ADVERTISEMENT

प्रतिकूल मौसमका बीच पनि शनिबार समिट एयरले तीन उडान भरेको थियो। ती उडानमार्फत मात्रै ४७ जना यात्रु सिमकोट पुगेका छन्।

यात्रामध्ये २३ भारतीय तीर्थयात्री भने आवश्यक परमिट नपाउँदा सिमकोटमै रोकिएका छन्। सार्वजनिक बिदाका कारण चीन प्रवेशसम्बन्धी अनुमति प्रक्रिया ढिला हुँदा उनीहरूलाई केही दिन सिमकोटमै बस्नुपर्ने अवस्था आएको हो।

ADVERTISEMENT

हुम्ला हुँदै कैलाश मानसरोवर जाने धार्मिक यात्रुहरूको सङ्ख्या आगामी दिनमा अझ बढ्ने अनुमान गरिएको छ। २०७२ सालको भूकम्पपछि हिल्सा नाकामार्फत भारतीय पर्यटकको आवागमन सुरु भएको थियो। कोरोना महामारीका बेला नाका बन्द हुँदा यात्रा प्रभावित बने पनि गत वर्षदेखि चीनले पुनः अनुमति दिएपछि यात्रु आगमन बढ्न थालेको हो।

गत वर्ष मात्रै चार महिनाको अवधिमा करिब ६ हजार ५०० भारतीय तीर्थयात्रीले हुम्ला हुँदै कैलाश मानसरोवरको यात्रा गरेका थिए। यस वर्षको पहिलो टोली वैशाख ३० गते सिमकोट पुगेको थियो।