काठमाडौं । सात वर्षपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार चीन भ्रमणमा जाँदैछन्। इरान युद्धले विश्वकै अर्थतन्त्र धराशायी बन्ने दिशातर्फ उन्मुख भइरहेका बेला ट्रम्प बेइजिङ जान लागेका हुन् ।
ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङसँग इरान युद्ध रोक्ने विषयमा छलफल गर्ने भएका छन् । ट्रम्प र जिनपिङबीच पछिल्लो भेट अक्टोबरमा दक्षिण कोरियामा भएको थियो। त्यतिबेला दुवैले कडा व्यापार युद्ध रोक्ने सहमति गरेका थिए।
उक्त व्यापार युद्धमा अमेरिकाले चिनियाँ सामानमा सय प्रतिशतभन्दा बढी भन्सार शुल्क लगाएको थियो भने चीनले दुर्लभ खनिजको विश्वव्यापी आपूर्ति सीमित गर्ने चेतावनी दिएको थियो।
ट्रम्पले चिनियाँ राष्ट्रपति सीसँग व्यापार युद्धमा भएको अस्थायी सम्झौता लम्ब्याउने विषयमा छलफल गर्नेछन्। उक्त सम्झौताअनुसार चीनबाट अमेरिकातर्फ दुर्लभ खनिज पदार्थको आपूर्ति जारी राखिएको छ। तर यो सम्झौता यसै साता थपिने वा नथपिने स्पष्ट छैन।
ह्वाइट हाउसका अनुसार टोलीमा इलन मस्क, टिम कूक र केली अर्टबर्ग पनि सहभागी हुनेछन् । यस्तै, अन्य व्यक्तिहरूमा मेटाकी डिना पावेल म्याक्कर्मिक, ब्ल्याकरकका ल्यारी फिङ्क, ब्ल्याकस्टोनका स्टेफन स्वार्जम्यान, माइक्रोनका सञ्जय मेह्रोत्रा, मास्टरकार्डकाका माइकल मिएबाक, क्वालकमका क्रिश्टियानो आमोन र भिजाका र्यान म्याकइनेर्नी रहेका छन्।
सिस्कोका सीईओ चंक रबिन्सलाई पनि ह्वाइट हाउसले चीन भ्रमणमा निमन्त्रणा दिएको थियो। तर कम्पनीको आम्दानी प्रतिवेदन यसै साता सार्वजनिक हुने भएकाले उनी सहभागी हुन नसकेको कम्पनीका प्रवक्ताले बताएका छन्।
ट्रम्पको भ्रमणमा अमेरिका र चीनबीच पारस्परिक व्यापार तथा लगानी सहज बनाउन विभिन्न फोरम स्थापना गर्ने सहमति हुने अपेक्षा गरिएको छ। साथै चीनले बोइङका विमान, अमेरिकी कृषि र ऊर्जा क्षेत्रसँग सम्बन्धित खरिद घोषणा गर्न सक्ने रोयटर्सले सोमबार जनाएको थियो।








